स्वास्थ्य बीमा पुनरावलोकन गरिने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिने बताएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग भएको पाइएको उल्लेख गर्दै त्यसको औचित्य पुष्टि हुने गरी पुनः विचार गरिने बताएका थिए ।
प्रधानमन्त्री ओलीले निरोगी नेपाल अभियानलाई सफल बनाउन र बिरामीलाई प्रभावकारी उपचार दिने दिशामा शिक्षण अस्पतालले अझ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले भने, "स्वास्थ्य सेवामा शिक्षण अस्पतालले जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको छ। दक्ष जनशक्ति उत्पादन, गुणस्तरीय उपचार र सेवामा यो अझै उत्कृष्ट बन्नुपर्छ।"
स्वास्थ्य सेवामा नेपालमै भर पर्ने कुरामा जोड दिँदै प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण यही अस्पतालमा गराएको स्मरण गरे। उनले अस्पताल, चिकित्सक र नर्सप्रति बिरामीको भरोसा रहने उल्लेख गर्दै भने, "नर्सको मृदुभाषीपन र व्यवहारले पनि बिरामीको उपचारमा ठुलो भूमिका खेल्छ। औषधि मात्र हैन, सहानुभूति र माया पनि औषधि हो।"
कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको सेवा भवन विस्तारमा सहयोग गर्ने भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस