Techie IT
२०८३ भाद्र २०, शनिबार

सुरुङभित्र फसेकाहरुको उद्धारमा सहज गर्न स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

मानिस सहजै प्रवेश गर्न नसक्ने अँध्यारा, साँघुरा र जोखिमपूर्ण सुरुङभित्र खोजी गर्न सक्ने गरी यसको डिजाइन गरिएको


जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र खोज र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’द्वारा उत्पादित यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण भूमिगत संरचनाको निरीक्षणका लागि अत्यन्त उपयोगी मानिएको छ।

स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले एक कार्यक्रमबीच उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्। मानिस सहजै प्रवेश गर्न नसक्ने अँध्यारा, साँघुरा र जोखिमपूर्ण सुरुङभित्र खोजी गर्न सक्ने गरी यसको डिजाइन गरिएको छ। ड्रोनमा विशेष सुरक्षा घेरा (केजिङ) जडान गरिएको हुनाले सुरुङका भित्ता वा चट्टानमा ठोक्किँदा पनि क्षति नपुगी निरन्तर उडान गर्न सक्ने क्षमता हुन्छ।

नयाँ प्रविधिको प्रयोगले सुरुङभित्र फसेका व्यक्तिको अवस्थाबारे वास्तविक जानकारी संकलन गर्न, जोखिमको मूल्याङ्कन गर्न र सुरक्षित उद्धार रणनीति तय गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा हुने दुर्घटनामा उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बन्दै आएको अवस्थामा यो अत्याधुनिक प्रविधि नेपालका लागि एक महत्वपूर्ण उपलब्धि बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट