Techie IT
२०८३ भाद्र २७, शनिबार

आगामी पाँच वर्षभित्र सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्ने तयारी


राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्रुत गतिमा अघि बढाइएको छ। सरकारबाट पाँच वर्षभित्रै काम सम्पन्न गर्न निर्देशन प्राप्त भएपछि हाल आयोजनाको निर्माण कार्यले तिब्रता पाएको आयोजना निर्देशक राजु आचार्यले जानकारी दिएका छन्। पर्याप्त बजेट र जनशक्ति उपलब्ध भए अबको पाँच वर्षभित्र सम्पूर्ण पूर्वाधार निर्माणको काम सकिने उनको भनाइ छ।

हालसम्म यस आयोजनाको ५१ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने यस अवधिमा पूर्वाधार निर्माणतर्फ करिब २४ अर्ब रुपैयाँ खर्च भइसकेको छ। मर्मतसम्भारका कामहरू नियमित रूपमा सञ्चालन हुने भए पनि आयोजनाका बाँकी निर्माण कार्यहरू निर्धारित पाँच वर्षभित्रै सक्ने गरी काम भइरहेको छ।

आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका, अगैयास्थित राप्ती नदीमा ३१७ मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी कुल ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ। नेपाल सरकारको आफ्नै स्रोतबाट सुरु गरिएको यस आयोजनाको पश्चिम मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब ९ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्नेछ। हालसम्म २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिसकेको निर्देशक आचार्यले बताएका छन्।

आव २०६४ मा स्वीकृत पहिलो गुरुयोजनाअनुसार १२ अर्ब ८० करोड रुपैयाँ लागतमा आव २०७०/७१ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। पछि सरकारले थप ९ हजार हेक्टर क्षेत्रमा नहर बनाउने गरी पूर्वी मूल नहर निर्माणलगायतका संरचनाहरू थप गर्‍यो।

आव २०७१/७२ को संशोधित गुरुयोजनाले २५ अर्ब २ करोड लागतमा आव २०७६/७७ सम्म काम सक्ने लक्ष्य राखेको थियो। तर उक्त अवधिमा पनि काम पूरा नभएपछि विसं २०७९ मा पुनः गुरुयोजना संशोधन गरियो। संशोधित गुरुयोजनाअनुसार अब ५२ अर्ब ८९ करोड कुल लागतमा आर्थिक वर्ष २०८९/९० सम्ममा आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाका सूचना अधिकारी मनोजकुमार साहले जानकारी दिए।

सूचना अधिकारी साहका अनुसार हाल आयोजनाका शाखा र उपशाखा निर्माणको काम धमाधम भइरहेको छ र यसका लागि थप ३० वटा बोलपत्र आह्वान गरिएको छ। आयोजनाअन्तर्गत ४५ किलोमिटर पश्चिम मूल नहर निर्माण भइसकेको छ भने सिधनिया, अकलघरुवा र गुरुवागाउँ शाखा नहर पनि सम्पन्न हुने चरणमा छन्।

लामो समयसम्म विवाद र अदालतमा विचाराधीन मुद्दाका कारण अलपत्र परेको डुडुवा शाखा नहरको विवाद गत वर्ष सल्टाएर नयाँ ठेकेदारमार्फत निर्माण अगाडि बढाइएको छ। यस नहरबाट करिब १६ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। पश्चिम मूल नहरअन्तर्गत अन्य थुप्रै उपशाखा र प्रशाखा नहर बनाउन समेत बोलपत्र आह्वान भइसकेको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै डुडुवा सिँचाइ प्रणालीअन्तर्गत करिब ९.५ किलोमिटर, पश्चिम नहरतर्फ ९ किलोमिटर, पूर्वी नहरतर्फ ९.५ किलोमिटर शाखा–उपशाखा नहर निर्माण, सिञ्चित क्षेत्र संरक्षण अन्तर्गत ७.५ किलोमिटर तटबन्ध निर्माण तथा ५.५ हेक्टर जमिन अधिग्रहण गरिएको छ। सोही आर्थिक वर्षमा विनियोजित १ अर्ब ५७ करोड रुपैयाँमध्ये करिब १ अर्ब ४१ करोड (८९ प्रतिशत) वित्तीय प्रगति हुँदा भौतिक प्रगति ९६ प्रतिशतभन्दा बढी भएको छ।

आयोजनाको ५३ किलोमिटर लामो पूर्वी मूल नहरको निर्माण भने अझै अधुरै छ। बाँधदेखि वैशागाउँसम्म करिब ३५ किलोमिटरसम्म नहर बने पनि नरैनापुर गाउँपालिका क्षेत्रमा निर्माण कार्य रोकिएको छ। 

दुवै मूल नहरका शाखा, उपशाखा र प्रशाखा नहरहरूको निर्माण पूरा नहुँदा किसानहरूले आवश्यकता परेका बेला बालीमा सहज ढङ्गले सिँचाइ गर्न नपाएको सिक्टा आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले गुनासो गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट