च्याटबटको गम्भीर भूलले सुरु हुन लागेको थियो अमेरिका-चीन सैन्य टकराब, टर्यो ठूलो दुर्घटना
कृत्रिम बौद्धिकता (एआई) को सहयोगमा तयार पारिएको एउटा गलत गुप्तचर प्रतिवेदनका कारण अमेरिकी सेना चिनियाँ पानीजहाजमाथि कारबाही गर्नबाट अन्तिम समयमा रोकिएको तथ्य सार्वजनिक भएको छ। अमेरिकी सेनाभित्र एआईको प्रयोग तीव्र रूपमा फैलिरहँदा बाहिरिएको यो घटनाले युद्धका क्रममा एआईबाट प्राप्त गलत सूचनामा निर्भर रहँदा निम्तिन सक्ने गम्भीर सैन्य तथा कूटनीतिक सङ्कटको जोखिमलाई उजागार गरेको छ।
सीएनएनका अनुसार, यो घटना सन् २०२६ को वसन्तमा अमेरिका र इरानबिच युद्ध चलिरहेका बेला भएको थियो। अमेरिकी सैन्य संरचनामा प्रसारित गुप्तचर प्रतिवेदनमा पश्चिम एसिया हुँदै यात्रा गरिरहेको एउटा चिनियाँ पानीजहाजले आणविक हतियार कार्यक्रमका लागि आवश्यक सामग्री बोकेको दाबी गरिएको थियो। उक्त सूचनाका आधारमा अमेरिकी सेनाले जहाजलाई नियन्त्रणमा लिई खानतलासी गर्ने तयारी थालेको थियो। सशस्त्र सैनिकहरू जहाजमा चढ्न तयार अवस्थामा थिए भने सैन्य विमानसमेत आकाशमा परिचालन भइसकेका थिए।
तर, कारबाही अघि बढ्नुभन्दा ठिक अगाडि अधिकारीहरूले गरेको थप जाँचका क्रममा प्रतिवेदन तयार गर्ने विशेष सैन्य कमान्डका एक विश्लेषकले एआई च्याटबटको सहयोग लिएको र च्याटबटले जहाजको सामग्रीलाई गलत रूपमा पहिचान गरेको पत्ता लाग्यो। उक्त गुप्तचर प्रतिवेदन पूर्ण रूपमा गलत रहेको र यसले दुई देशबिच गम्भीर सैन्य टकराबको जोखिम निम्त्याउन सक्ने स्रोतको भनाइ छ।
अमेरिकी “स्पेसल अपरेसन्स कमान्ड प्यासिफिक” अन्तर्गतका एक विश्लेषकले जहाजमा लोड गरिएको सामानसम्बन्धी सूचनालाई एआई च्याटबटमार्फत विश्लेषण गरेका थिए। च्याटबटले सार्वजनिक सूचना र गोप्य ‘सिग्नल्स इन्टेलिजेन्स’ का सामग्रीलाई जोडेर जहाजमा आणविक सामग्री रहेको गलत निष्कर्ष निकालेको थियो। अझ गम्भीर कुरा त, विश्लेषकले एआईको उक्त निष्कर्षलाई औपचारिक गुप्तचर प्रतिवेदनको स्वरूप दिएर सैन्य संरचनामा प्रसारित गरेका थिए।
पर्याप्त प्रमाण नभई एआईले विश्वस्त शैलीमा गलत तथ्य प्रस्तुत गर्ने ‘एआई हलुसिनेसन’ को प्रवृत्तिले सैन्य क्षेत्रमा भयानक परिणाम निम्त्याउन सक्ने यस घटनाले प्रष्ट पारेको छ।
अमेरिकी सेनाले युद्धभूमिमा निर्णय लिने गति बढाउन, गुप्तचर सूचना विश्लेषण गर्न र लक्ष्य पहिचान गर्न एआईको प्रयोग तीव्र बनाए पनि यसको प्रमाणीकरण र ‘मानवीय निगरानी’ को प्रभावकारी मापदण्ड तथा निर्देशिका अझै अभाव रहेको विज्ञहरूले औंल्याएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस