आतंकवाद सूचकाङ्कमा नेपालको ठूलो छलाङ: ६८औँबाट ८९औँ स्थानमा सुधार
आतंकवादी गतिविधि हुने देशहरूको सूचीमा नेपाल को स्थिति विगत वर्षको तुलनामा उल्लेख्य रूपमा सुधार भएको छ।
इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले सन् २०२६ का लागि सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल सन् २०२५ को ६८औँ स्थानबाट उक्लिँदै ८९औँ स्थानमा पुगेको हो। यसले नेपालमा सुरक्षा अवस्था मजबुत बन्दै गएको र आतंकवादी गतिविधि घटेको संकेत गर्दछ।
प्रतिवेदन अनुसार सन् २०२५ मा नेपालमा कुनै पनि आतंकवादी गतिविधि वा आक्रमणको घटना दर्ता भएको देखिँदैन। यसलाई देशको राजनीतिक स्थिरता र सशस्त्र द्वन्द्वपछिको अवस्थासँग जोडेर हेरिएको छ।
१६३ देश समेटिएको सूचीमा पाकिस्तान पहिलो स्थानमा रहँदै सबैभन्दा बढी प्रभावित देश बनेको छ। भारत १३औँ स्थानमा रहेको छ, जुन अघिल्लो वर्षभन्दा दुई स्थान तल हो। भारतमा पछिल्लो एक वर्षमा आतंकवादी घटनामा करिब ४३ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ।
त्यस्तै, अफगानिस्तान ११औँ, म्यानमार १४औँ र बंगलादेश ४२औँ स्थानमा रहेका छन्। भुटान र श्रीलंका भने आतंकवादी गतिविधि शून्य भएका देशहरूको सूचीमा परेका छन्।
प्रतिवेदनले दक्षिण एसियालाई लगातार १० वर्षदेखि आतंकवादबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा औंल्याएको छ। पहिलो पटक पाकिस्तान शीर्ष स्थानमा पुगेको हो भने अफगानिस्तान शीर्ष १० बाट बाहिरिएको छ।
विश्वव्यापी रूपमा सन् २०२५ मा आतंकवादका कारण हुने मृत्युमा २८ प्रतिशतले कमी आएको छ भने आक्रमणको संख्या करिब २२ प्रतिशतले घटेर २ हजार ९४४ मा सीमित भएको छ। यस अवधिमा ८१ देशको अवस्था सुधारिएको छ भने १९ देशको अवस्था कमजोर भएको उल्लेख गरिएको छ।
पश्चिमी देशहरूमा भने अवस्था विपरीत देखिएको छ। त्यहाँ आतंकवादका कारण हुने मृत्युमा करिब २८० प्रतिशतले वृद्धि भएको छ। युरोपेली संघका १४ सदस्य राष्ट्रमा सन् २०२४ मा ५८ वटा आतंकवादी हमला दर्ता भएका छन्, जसमा फ्रान्स मा १४ र जर्मनी मा ६ घटना भएका छन्।
आतंकवादसम्बन्धी मुद्दामा युरोपेली देशहरूमा ४४९ जना पक्राउ परेका छन् भने बेलायत मा मात्र ३ हजारभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रतिवेदनमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस