Techie IT
२०८३ वैशाख ३०, बुधबार

फेरि बन्द भयो बीपी राजमार्ग, रोशी खोलामा बाढीको जोखिम बढेपछि यातायात रोकियो


बीपी राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको केही घण्टामै पुनः बन्द गरिएको छ । रोशी खोलामा पानीको बहाव बढ्ने जोखिम देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले दिउँसोबाट सवारी आवागमन ‘होल्ड’ गरिएको जनाएको हो ।

प्रहरीले आज दिउँसो सवा १ बजे ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएकाले सम्भावित बाढी र कटानको जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा सवारी सञ्चालन रोकिएको जानकारी दिएको छ ।

यसअघि वर्षाका कारण रोशी खोलाले सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो । तीन दिनदेखि अवरुद्ध रहेको राजमार्ग बिहीबार बिहान ७ बजेदेखि सञ्चालनमा ल्याइए पनि पानीको सतह फेरि बढ्न थालेपछि सुरक्षाका कारण पुनः बन्द गरिएको हो ।

रोशी क्षेत्रमा सामान्य बाढी आउँदा समेत अस्थायी डाइभर्सन बग्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । खोलाको बहावमै बनाइएको अस्थायी सडक सानो बाढी आउँदा पनि क्षतिग्रस्त हुने गरेको छ ।

प्रहरीले मौसमको अवस्था र सम्भावित बाढीलाई मध्यनजर गर्दै सावधानी अपनाइएको जनाएको छ । स्थिति सामान्य भएपछि अर्को सूचना जारी गरेर पुनः यातायात सञ्चालन गरिने काभ्रे प्रहरीले जनाएको छ ।

बीपी राजमार्ग पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने प्रमुख सडक सञ्जालमध्ये एक हो । दैनिक सयौँ सार्वजनिक, मालवाहक तथा निजी सवारी सञ्चालन हुने यस सडकमा बाढी, पहिरो र कटानका कारण पटक–पटक समस्या उत्पन्न हुँदै आएको छ ।

विशेषगरी काभ्रेको रोशी क्षेत्र राजमार्गकै सबैभन्दा जोखिमयुक्त खण्डमध्ये एक मानिन्छ । गत वर्ष बाढीले क्षति पुर्‍याएको सडक मर्मत कार्य अझै पूरा हुन नसक्दा समस्या झन् जटिल बनेको हो ।

राजमार्ग पटक–पटक बन्द हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने अवस्था सिर्जना भएको छ । लामो दूरीका सार्वजनिक यातायात, मालवाहक ट्रक तथा निजी सवारी काभ्रेको भकुण्डे र सिन्धुलीको नेपालथोकामा रोकिएका छन् ।

प्रहरीले अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न आग्रह गरेको छ । थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट