Techie IT
२०८३ असार १४, आइतबार

असार २२ देखि १५ दिन धुलिखेल–खावा सडकमा राति सवारी आवागमन बन्द गरिने


अरनिको राजमार्गअन्तर्गत विस्तार र स्तरोन्नति भइरहेको धुलिखेल–खावा सडक खण्डको निर्माण कार्यलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिने भएको छ । सडक कालोपत्र (पिच) गर्ने कामलाई छिटो र प्रभावकारी बनाउन जिल्ला सुरक्षा समिति काभ्रेले आगामी असार २२ गतेदेखि साउन ४ गतेसम्म रातिको समयमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार तोकिएको अवधिभर निर्माण कार्यलाई बाधा नपुग्ने गरी सवारीसाधनका लागि निम्नानुसारको नियम लागू गरिनेछ-

ठूला मालवाहक सवारी: टिपर र भारी मालवाहक ट्रकहरूलाई उक्त अवधिमा पूर्ण रूपमा प्रवेश निषेध गरिएको छ ।

यात्रुवाहक तथा अन्य सवारी: साना गाडी र यात्रुवाहक बसहरूलाई बेलुका ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म मात्रै प्रवेशमा रोक लगाइनेछ ।

अत्यावश्यक सेवा: एम्बुलेन्स, दमकल, सुरक्षा र अन्य अत्यावश्यक सेवाका सवारीसाधनहरू भने रातिको समयमा पनि पूर्ववत् रूपमा सञ्चालन हुन पाउनेछन् ।

आर्थिक वर्षको अन्त्यको समय भएकाले निर्माण सामग्री ढुवानीमा धेरै असर नपरोस् भनी निर्माण प्रक्रियालाई थोरै समय व्यवस्थापन गरेर यो निर्णय लिइएको प्रशासनले जनाएको छ । सुरक्षा समितिले सडक निर्माणलाई सहजीकरण गर्न र सम्भावित जामबाट बच्नका लागि यात्रु तथा मालवाहक सवारीसाधनहरूलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

सवारीसाधनको चुस्त व्यवस्थापन र चालकहरूलाई आवश्यक सहजीकरण गर्नका लागि काभ्रे प्रशासनले छिमेकी जिल्लाहरू काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग आवश्यक समन्वय र तयारी गरिसकेको छ ।

यसअघि गत चैत महिनामा पनि करिब एक महिनाभर रातिको समयमा यातायात पूर्ण बन्द र दिउँसो एकतर्फी सञ्चालन गरेर २.५ किलोमिटर सडकखण्डमा 'डिबिएम-पिच' (कालोपत्र) को काम सम्पन्न गरिएको थियो । बाँकी कामलाई पनि सोही अनुरूप गति दिन यो कदम चालिएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट