ज्याला माग्न जाँदा खुकुरी प्रहार गरी हत्या
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियामा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ ।
बिहीबार घरायसी र आर्थिक विवादका क्रममा स्थानीय ३८ वर्षीय ध्रुव अधिकारीको हत्या भएपछि प्रहरीले एकै घरका तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र २२ वर्षीया छोरी सीता सार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार, मुख्य आरोपित तिलकबहादुरलाई घटना लगत्तै बिहीबार नै नियन्त्रणमा लिइएको थियो । मृतकका आफन्तले किटानी जाहेरी दिएपछि उनकी श्रीमती र छोरीलाई पनि शुक्रबार पक्राउ गरिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबार रहेको खुलेको छ । अधिकारी आफूले तिलकबहादुरको घरमा काम गरेको मजदुरी (पारिश्रमिक) माग्न गएका थिए । सोही विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा तिलकबहादुरले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्यापछि मुख्य आरोपित तिलकबहादुर आफैँले फोन गरेर प्रहरीलाई जानकारी गराएका थिए । मृतक अधिकारीको शव परीक्षण (पोस्टमार्टम) पश्चात् आफन्तको जिम्मा लगाइएको छ । पक्राउ परेका तीनै जना विरुद्ध कर्तव्य ज्यान मुद्दा अन्तर्गत हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस