Techie IT
२०८३ श्रावण ११, सोमबार

देवानगञ्ज झडप

झडपमा एक जनाको मृत्यु, सुनसरीका ५ प्रमुख बजारमा अनिश्चितकालीन कर्फ्यु


दुई समुदायबीच झडप भएपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु तथा निषेधाज्ञा जारी गरेको छ।

प्रशासनले साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सुनसरीका पाँचवटा मुख्य बजार क्षेत्रलाई केन्द्रित गरी कर्फ्यु लगाएको हो।

देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपमा स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। स्थानीय मन्दिरमा ठूलो आवाजमा डिजे बजाएको विषयबाट सुरु भएको विवाद पछि झडपमा परिणत भएको थियो। त्यसअघि सोही क्षेत्रको बिजुलीको पोलमा राखिएको धार्मिक झण्डा हटाउने विषयलाई लिएर समेत दुई पक्षबीच विवाद चर्किएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।

कुन-कुन क्षेत्रमा छ कर्फ्यु?
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा कायम राख्न देवानगञ्ज र हरिनगर गाउँपालिकाका मुख्य बजार क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

हरिनगर बजार: पूर्वमा नुनियतोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोड।
भुटाहा बजार: पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालय क्षेत्र।
कप्तानगञ्ज बजार: पूर्वमा यादव टोल, पश्चिममा सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल-भारत सीमा क्षेत्र।
घुस्की बजार: पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुसकी, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुल क्षेत्र।
देवानगञ्ज बजार: पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयभित्रको क्षेत्र।

कर्फ्युका साथै स्थानीय प्रशासनले हरिनगर र देवानगञ्ज गाउँपालिकाभर ५ जनाभन्दा बढी मानिसहरू भेला हुन नपाइने गरी निषेधाज्ञा समेत जारी गरेको छ। सोमबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म लागू हुने गरी यो आदेश जारी गरिएको र सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट