कृष्णभीरमा अवरुद्ध सडक तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी
रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएर अवरुद्ध बनेको चितवनको कृष्णभीर खण्डमा तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक भासिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम तदारुकताका साथ सम्पन्न भइसकेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की प्रमुख सजना अधिकारीले जानकारी दिएकी छन्।
हाल नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सबग्रेड तयार पार्ने काम भइरहेको छ। आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोलीलाई उच्च सतर्कताका साथ परिचालन गरी निर्माण कार्य तीव्र पारिएको छ। कामको प्रकृति हेरी दैनिक प्रयोग हुने उपकरणको संख्यामा समेत फेरबदल गर्ने गरिएको छ। यसअघि केही दिनसम्म १२ वटासम्म उपकरण परिचालन गरिएको थियो।
शनिबार (भदौ २७) कटिङको काम लगभग सकिएपछि अहिले ग्रेड सुधारका निम्ति दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेको योजना प्रमुख अधिकारीले बताइन्। ग्रेडको काम सकिनासाथ रोलर थप गरेर रोलिङको काम थालिनेछ।
उनले भनिन्, “ग्रेड मिलाइसकेपछि रोलर थपेर रोलिङको काम सुरु गरिनेछ। सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई–तीन दिन लाग्ने अनुमान छ ।”



तपाईको प्रतिक्रिया दिनुहोस