बागमती र गण्डकीका यी प्रमुख राजमार्गहरू बन्द
बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र निरन्तरको मर्मतसम्भारका कारण गम्भीर रूपमा प्रभावित भएका छन्।
प्रहरीले सोमबार बिहान ६:०० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार जोखिमपूर्ण स्थानहरूमा यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ भने केही स्थानमा भने वैकल्पिक व्यवस्थासहित एकतर्फी रूपमा मात्र सञ्चालनमा ल्याइएको छ।
प्रमुख सडकहरूको अवस्था:
बीपी राजमार्ग (काभ्रे): खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा भदौ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि समयतालिका तोकेर सवारी साधन चलाइएको छ। साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधन मात्र सञ्चालन हुनेछन्। बिहान ४:०० बजेदेखि साँझ ६:०० बजेसम्म भने स्थलगत परिस्थितιको मूल्यांकन गरी सवारी आवागमन खुलाइएको छ।
रसुवाका मुख्य सडक: बाढीका कारण यस क्षेत्रका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन्। त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकअन्तर्गत उत्तरगया गाउँपालिका-५, खाल्टेमा भदौ ८ गतेदेखि अनिश्चितकालका लागि यातायात ठप्प छ। त्यस्तै, भदौ १० गतेदेखि अन्य मुख्य खण्डहरू पनि पूर्ण रूपमा बन्द छन्।
नुवाकोट: टोखा–छहरे सडक खण्डको शिवपुरी गाउँपालिका-८, घट्टेखोलामा सम्भावित पहिरोको जोखिमका कारण भदौ १ गतेदेखि राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी चलाउन निषेध गरिएको छ। पासाङ ल्हामु सडकको विदुर नगरपालिका-१०, सिमटारमा पनि भदौ १० गतेदेखि बाढीले बाटो पूर्ण रूपमा बटाएको छ।
धादिङ (पृथ्वी राजमार्ग): बेनिघाट रोराङ गाउँपालिका-७, कृष्णभीरमा भदौ १४ गतेदेखि पहिरोले पूर्ण अवरोध सिर्जना गरेको छ। सोही राजमार्गको बेनिघाट रोराङ-१०, ज्वाडखोला र शीतलबजारमा भने पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गरिएको छ।
चितवन (नारायणगढ-मुग्लिन): तुइनखोलामा सडक मर्मतको काम भइरहेकाले सवारीको चापलाई ध्यानमा राख्दै एकतर्फी रूपमा मात्र गाडीहरू पास गराइँदैछ।
ममनाङ (गण्डकी प्रदेश): चामे–बेसीशहर सडक खण्डअन्तर्गत नासोँ गाउँपालिका-३, धारापानीमा भदौ २५ गतेदेखि निर्माण कार्य जारी रहेका कारण हाल साना सवारी साधनहरू मात्र सञ्चालनमा छन्।



तपाईको प्रतिक्रिया दिनुहोस