Techie IT
२०८३ भाद्र २९, सोमबार

के काठमाडौं गोर्खाजबाट अष्ट्रेलियन ब्याटर डेभिड वार्नर खेल्दैछन् ?


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) नजिकिँदै जाँदा फ्रेन्चाइज टिमहरूले स्टार विदेशी खेलाडीहरूको अनुबन्धलाई तीब्र बनाएका छन्। यसै क्रममा काठमाडौं गोर्खाजले अष्ट्रेलियाका विस्फोटक तथा विश्वचर्चित ब्याट्सम्यान डेभिड वार्नरलाई टोलीमा भित्र्याउने बलियो संकेत दिएको छ।

हालै सामाजिक सञ्जालमार्फत काठमाडौं गोर्खाजले विभिन्न सांकेतिक पोस्टहरू गर्दै वार्नरको आगमन लगभग पक्का जस्तै बनाएको छ। गोर्खाजले टी–२० र एकदिवसीय (ओडीआई) दुवै फर्म्याटको विश्वकप जितेका खेलाडी, ३१ नम्बरको जर्सी, सिड्नीदेखि काठमाडौँसम्मको फ्लाइट तथा टेस्ट क्रिकेटमा वार्नरले बनाएको ‘तेहेरो शतक’ (३३५ रन) लाई आधार बनाएर पोस्टहरू सार्वजनिक गरेको छ। यी संकेतहरू सिधै डेभिड वार्नरतर्फ इङ्गित गर्छन्।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गते (अक्टोबर २६) देखि मंसिर ५ गते (नोभेम्बर २१) सम्म सञ्चालन हुँदैछ। प्रतियोगिताको अक्सन प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ। यसअघिका दुई संस्करणहरू अत्यधिक सफल भएपछि तेस्रो संस्करणका लागि पनि नेपाली क्रिकेटप्रेमीहरूमा व्यापक उत्साह र व्यग्र प्रतीक्षा रहेको छ।

यसअघि पहिलो संस्करणमा कर्णाली याक्सबाट भारतका शिखर धवन र दोस्रो संस्करणमा विराटनगर किंग्सबाट फाफ डु प्लेसिस जस्ता विश्वविख्यात खेलाडीहरूले एनपीएल खेलिसकेका छन्। त्यस्तै, यसै तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले गत महिना मात्रै बंगलादेशका स्टार अलराउन्डर शकिब अल हसनलाई अनुबन्ध गरिसकेको छ। अब काठमाडौं गोर्खाजले डेभिड वार्नरलाई भित्र्याउने तयारी गरेसँगै प्रतियोगिताको रोमान्चकता अझ बढ्ने निश्चितप्रायः छ।

अष्ट्रेलियाली क्रिकेटका सफल हस्ती वार्नरले आफ्नो करियरमा थुप्रै कीर्तिमान बनाएका छन्। उनी इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासमै सर्वाधिक रन बनाउने सफल विदेशी ब्याटरमध्ये एक हुन् । उनले तीनपटक ‘ओरेन्ज क्याप’ जितेका छन्। साथै, सनराइजर्स हैदराबादलाई सन् २०१६ मा उनको कप्तानीमा आईपीएलको उपाधि समेत दिलाएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट