कैलाली कारागारमा थप अप्रिय घटना रोक्न सुरक्षा व्यवस्था कडा गरिएको छ : गृह मन्त्रालय

कैलालीको धनगढीस्थित जिल्ला कारागारमा कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। घटनापछि गृहमन्त्री रमेश लेखकले शनिबार सिंहदरबारमा सुरक्षा निकायका प्रमुखहरूसँग आपतकालीन छलफल गरेका छन्।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले सरकारले घटनालाई गम्भीरताका साथ लिएर परिस्थिति सहज बनाउन सूक्ष्म रूपमा निगरानी गरिरहेको जानकारी दिए। छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार मृत्यु हुने व्यक्ति धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरी हुन्। शुक्रबार राति करिब ११ बजे कारागारका ‘ए’ ब्लक र ‘बी’ ब्लकमा रहेका कैदीबन्दीहरूबीच झडप भएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, दुई समूहबीचको मनमुटाव बढेर झडपमा परिणत भएको देखिन्छ।
गम्भीर घाइतेमध्ये एक जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ भने अन्य घाइतेको स्थानीय स्तरमै उपचार भइरहेको छ। प्रवक्ता काफ्लेले कारागारको पूर्ण सुरक्षा गर्न र थप अप्रिय घटना रोक्न आवश्यक व्यवस्था मिलाइएको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस