Techie IT
२०८२ श्रावण २६, सोमबार

कैलाली कारागार झडप: घाइते अर्का कैदी रेफर गर्ने तयारी


कैलाली कारागारमा भएको झडपमा घाइते भएका अर्का एक कैदीलाई पनि बाहिर उपचारका लागि रेफर गर्ने तयारी गरिएको छ। नसासम्बन्धी समस्या भएका ती कैदीलाई काठमाडौं वा नेपालगञ्ज पठाउनेबारे छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन्।

जोशीका अनुसार, उनी सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्पतालमा उपचाररत छन्। “नसामा समस्या भएका कैदीलाई रेफर गर्ने तयारी भइरहेको छ। कहाँ पठाउने भन्नेबारे सल्लाह हुँदैछ,” उनले भने।

यो पटक घाइतेलाई स्काई हेलिकप्टरबाट नभई सामान्य विमानमार्फत पठाइने तयारी भएको जोशीले बताए। यसअघि हिजो साँझ गम्भीर घाइते एक कैदीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको थियो।

उता, कारागारभित्रको अवस्थाबारे यकिन तथ्यांक संकलन गर्न कैदीबन्दीको गणना सुरु गरिएको छ। शनिबार मात्र कारागारको जिम्मेवारी सम्हालेका जेलर जालन्धर भुसालले प्रत्येक कैदीलाई बोलाएर संख्या गणना गर्न थालेका हुन्।

कारागारमा शुक्रबार राति भएको हिंसात्मक झडपमा एक कैदीको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन्। घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति पूर्ण रूपमा नियन्त्रणमा लिन सकेको छैन।

कैदीबन्दीहरूले भित्रबाट ताला लगाएर थुनुवा कक्ष आफ्नो नियन्त्रणमा लिएकाले प्रहरीले समेत प्रवेश गर्न नसकेको कारागार स्रोतको भनाइ छ। यस कारण भित्रको वास्तविक अवस्था बाहिर सार्वजनिक हुन सकेको छैन।

१५० जनाको क्षमताको कैलाली कारागारमा हाल करिब ७०० कैदीबन्दी राखिएका छन्। क्षमताभन्दा धेरै कैदीबन्दी राखिँदा त्यहाँ पटकपटक तनाव र झडप हुने गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट