Techie IT
२०८२ पौष ११, शुक्रबार

गौरीफन्टा नाकामा तेस्रो मुलुकका यात्रुका लागि आवागमन एक वर्षदेखि बन्द


कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका यात्रुको आवागमन गत एक वर्षदेखि रोकिएको छ। गौरीफन्टा नाका हुँदै आवागमन गर्ने तेस्रो मुलुकका नागरिकलाई भारतीय पक्षले रोक लगाएपछि कार्यालयको काममा समेत असर परेको छ।

कार्यालयकी सूचना अधिकारी शान्ति बुढाले भनिन्, “गौरीफन्टास्थित भारतीय अधिकारीहरूले आफूहरूसँग पर्याप्त साधनस्रोत नभएको भन्दै गत वर्ष पुसदेखि तेस्रो मुलुकका यात्रुका लागि आवागमन रोकिदिएका छन्। यसले गौरीफन्टामा पुग्ने पाहुनाहरूलाई गन्तव्यतर्फ जान नपाउने समस्या सिर्जना गरेको छ।”

उनका अनुसार, अध्यागमन कार्यालयले आफ्नो सेवा प्रवाह यथावत् राखे पनि सीमापारी पुगेका यात्रुलाई आवागमन गर्न दिइएको छैन। आवागमन रोकिएपछि यात्रुहरूले कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गर्न थालेका छन्।

गौरीफन्टा नाकामा आवागमन रोकिएसँगै कैलाली अध्यागमन कार्यालयको राजस्व सङ्कलनमा समेत असर परेको सूचना अधिकारी बुढाले बताइन्। यसका साथै नाका प्रयोग गर्दै आएका यात्रुहरूलाई वैकल्पिक नाका प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। कार्यालयले विदेशी नागरिकको भिसा म्याद थप्ने, वैवाहिक भिसा वितरण गर्ने लगायत सेवाहरू प्रदान गर्दै आएको छ।

“कार्यालयको सन् २०२४ को वार्षिक तथ्याङ्कअनुसार यस नाका हुँदै ३० तेस्रो मुलुकका नागरिक भित्रिएका थिए भने ३२ नागरिक बाहिरिएका थिए। त्यसपछि आवागमन रोकिएको हो,” सूचना अधिकारी बुढाले भनिन्।

अध्यागमन व्यवस्थापनको मुख्य जिम्मेवारी अध्यागमन विभागले लिएको छ र प्रवेश तथा प्रस्थान बिन्दुमा सञ्चालन हुने कार्यालयहरूले यातायात र सेवा व्यवस्थापनको काम सम्हाल्दै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट