Techie IT
२०८२ माघ २८, बुधबार

मेलौलीसहित सुदूरपश्चिमका यी स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने


बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ। सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडीको मेलौली, बाजुराको कोल्टी, डोटीको विपिनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको हो।

मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमका चार स्थानसहित देशका विभिन्न नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै यससम्बन्धी प्रक्रिया थालिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाको तल्लोस्वराड क्षेत्रका बासिन्दाको लामो समयदेखिको माग र निरन्तर प्रयासपछि मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना हुन लागेको हो।

सरकारको निर्णयपछि मेलौली तथा आसपासका क्षेत्रका स्थानीयवासी खुसी भएका छन्। इलाका प्रशासन कार्यालय स्थापना भएपछि तल्लोस्वराड क्षेत्रका बासिन्दाले नागरिकतासहितका अत्यावश्यक प्रशासनिक सेवाका लागि दिनभर यात्रा गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

तल्लोस्वराड क्षेत्रका साथै मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई प्रशासनिक कामकाजमा ठूलो सहजता हुने अध्यक्ष चन्दले बताए। उनले सरकारको निर्णयलाई स्वागतयोग्य र ऐतिहासिक कदमको संज्ञा दिँदै भने, “तल्लोस्वराडबासीका लागि मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना हुनु अत्यन्तै महत्वपूर्ण निर्णय हो। अब नागरिकता लगायतका कामका लागि हजारौँ रुपैयाँ खर्चेर सदरमुकाम जानुपर्ने बाध्यता हट्नेछ।”

यसैबीच, सरकारले ताप्लेजुङको सिरिजङ्गा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट र सङ्खुवासभाको हिदानागढीमा पनि इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट