दोधारा चाँदनी क्षतिग्रस्त पुललाई यथाशीघ्र पुनर्निर्माण गर्छौ - मन्त्री ओमविक्रम भाट
महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुरको दोधारा चाँदनीलाई भीमदत्त क्षेत्रसँग जोड्ने बहुचर्चित झोलुंगे पुलको बीच भाग भाँचिएको छ। पुलमा क्षति पुगेसँगै दुईतर्फी आवत जावत पूर्ण रूपमा बन्द गरिएको छ।
बुधबार बिहान दोधारा चाँदनीतर्फबाट तेस्रो पिलर भत्किएपछि पुलको केही भाग नदीमा खसेको हो। २०६१ सालमा निर्माण भएको करिब १ हजार ४५३ मिटर लामो यो पुल दोधारा चाँदनीका स्थानीय बासिन्दाका लागि लामो समयदेखि अत्यन्तै महत्त्वपूर्ण आवागमन मार्ग रहँदै आएको थियो। पछिल्लो समय पक्की पुल निर्माण भइसके पनि छोटो दूरी पर्ने भएकाले स्थानीयले पैदल तथा साना सवारीसाधनका लागि यसै पुलको प्रयोग गर्दै आएका थिए।
मन्त्रीसहितको उच्च टोलीद्वारा स्थलगत अनुगमन
घटनालगत्तै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाटको नेतृत्वमा माननीय मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री तथा मन्त्रालयको उच्च टोलीले घटनास्थलको स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा मन्त्री भाटले क्षतिग्रस्त पुललाई यथाशीघ्र पुनर्निर्माण गर्न आवश्यक प्राविधिक प्रक्रिया, क्षेत्राधिकार तथा बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग समन्वय थालिसकिएको जानकारी दिनुभएको छ। स्थानीयहरूको जीवन सहज बनाउन वैकल्पिक व्यवस्था र छिटोभन्दा छिटो मर्मतको काम अघि बढाइने सरकारको तयारी छ।






तपाईको प्रतिक्रिया दिनुहोस