Techie IT
२०८३ कार्तिक २७, बिहीबार

टर्कीमा परराष्ट्रमन्त्री खनाल र गुटेरेसबीच द्विपक्षीय वार्ता


परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको छ । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकामा महासचिव गुटेरेसप्रति हार्दिक आभार व्यक्त गरेका थिए । साथै, उनले संयुक्त राष्ट्रसङ्घको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिव गुटेरेसले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

सो अवसरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पुर्‍याउँदै आएको महत्त्वपूर्ण योगदानको उच्च सराहना गरेका थिए ।

भेटमा दुवै पक्षबीच भोटेकोशी बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माण प्रयास, जलवायु वित्तमा वृद्धि, बहुप्रकोप पूर्वसूचना प्रणाली र जलवायु कार्यका विषयमा विचार आदानप्रदान भएको थियो ।

त्यसैगरी, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता, क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका समसामयिक विषय र जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य तथा बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत उनीहरूबीच छलफल भएको जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट