Techie IT
२०८३ कार्तिक २९, शनिबार

अन्तर्राष्ट्रिय मञ्चमा शेर्पा पहिरनको मन्त्री चौधरीले अपमान गरेको आरोप, भएको के थियो ?


टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा सहभागी भएकी कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले शेर्पा समुदायको परम्परागत पोशाक उल्टोपाल्टो लगाएर सांस्कृतिक मर्यादाको अपमान गरेको भन्दै तीव्र आलोचना भएको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा हिमाली क्षेत्रको मौलिक पहिरनलाई नबुझी तथा सम्बन्धित समुदायसँग कुनै सल्लाह नलिई जथाभाबी लगाइएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका हुन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी बागमती प्रदेश अध्यक्ष छिरिङ डोल्मा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै मन्त्री चौधरीको पहिरनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन् ।

शेर्पाले मन्त्रीको उक्त कार्यलाई “हिमाली मुद्दा उठाएको नभई हिमाली जातिलाई जिस्क्याएको” टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, “कोप–३१ मा १९० देशका प्रतिनिधिले मन्त्रीलाई भेटे । सबैले यो तस्बिर देखेपछि के सोचे होलान् ? शेर्पाहरूले यस्तै उल्टो लुगा लगाउँछन् भन्ने भ्रम जाँदैन ?”

सगरमाथा आरोहणमार्फत विश्वमाझ नेपाल चिनाउने र ज्यानको बाजी लगाएर हिमाल जोगाउने शेर्पा समुदायको पहिचानमाथि खेलबाड गरिएको भन्दै उनले आक्रोश पोखेकी छन् । हिमालको मुद्दा उठाउन शेर्पा पहिरन नै लगाउनुपर्छ भन्ने नरहेको र मन्त्रीकै हैसियतमा कुरा राख्दा पर्याप्त हुने उल्लेख गर्दै उनले शेर्पा पोशाक लगाउने नै भए सही तरिकाले संस्कृतिलाई सम्मान गरेर लगाउन सुझाव दिएकी छन् ।

“पहिरन भनेको पहिचान हो । पहिचान उल्टो भएपछि जाति नै उल्टो देखिन्छ । यो सम्पूर्ण हिमाली क्षेत्रको अपमान हो,” शेर्पाले लेखेकी छन् । उनले मन्त्री चौधरीले यस विषयमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसमेत अघि सारेकी छन् ।

सार्वजनिक भएको तस्बिरमा मन्त्री चौधरीले शेर्पा महिलाले कम्मरमा बाँध्ने परम्परागत धर्के एप्रोन (पाङदेन) उल्टो र छोटो पारेर लगाएको तथा परम्परागत पोशाक (आङ्गी/बख्खु) माथि आधुनिक कोट लगाएको देखिन्छ । उक्त तस्बिर बाहिरिएसँगै सांस्कृतिक संवेदनशीलतामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा समेत व्यापक टीकाटिप्पणी भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट