लुचिस्तान लिबरेशन आर्मी ‘विदेशी आतंकवादी संगठन’ घोषित

अमेरिकाले पाकिस्तानमा आधारित बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) लाई आतंककारी संगठन घोषणा गरेको छ।
पाकिस्तानको बलुचिस्तान प्रान्तमा सक्रिय यस सशस्त्र समूहलाई अमेरिकाले ‘विदेशी आतंकवादी संगठन’ सूचीमा राखेको हो। सोमबार अमेरिकाको राज्य विभागले बीएलएलाई अन्तर्राष्ट्रिय आतंककारी समूहका रूपमा सूचीमा समावेश गरेको जानकारी दिएको छ।
बीएलए, जसलाई ‘माजिद ब्रिगेड’ पनि भनिन्छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान सरकारसँग सम्पर्क बढाउन खोजिरहेका बेला आतंकवादी सूचीमा परेको हो।
अमेरिकी विदेश सचिव मार्को रुबियोले विज्ञप्तिमा भने, “यो कदमले ट्रम्प प्रशासनको आतंकवादविरुद्धको प्रतिबद्धता प्रष्ट पार्छ। आतंकवादी पदनामले यस प्रकोपविरुद्धको लडाइँमा महत्त्वपूर्ण भूमिका खेल्छ र आतंकवादी गतिविधिहरू रोक्न प्रभावकारी माध्यमको काम गर्छ।”
गत मार्चमा बीएलएले क्वेटाबाट पेशावर जाने रेलमाथि घेराबन्दीको जिम्मेवारी लिएको थियो, जसमा दर्जनौँ यात्रु र सैनिक मारिएका थिए। बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर कम जनसंख्या भएको र आर्थिक रूपमा पछाडि परेको प्रान्त हो। सन् १९४७ मा पाकिस्तान स्थापना भएदेखि यहाँ कम्तीमा पाँच पटक पृथकतावादी विद्रोह भइसकेका छन्। विद्रोहीहरू बलुचिस्तानलाई पाकिस्तानबाट अलग गरेर स्वतन्त्र राष्ट्र बनाउने लक्ष्य राख्छन्।
यो आन्दोलनको नयाँ चरण सन् २००० तिर सुरु भएको हो। त्यसयता समूहले प्रान्तका प्राकृतिक स्रोत–साधन कब्जा गर्ने गतिविधि गरिरहेको छ। समर्थकहरूले पाकिस्तान सरकारले करिब १ करोड ५० लाख जनसंख्यालाई बेवास्ता गर्दै प्राकृतिक स्रोतको दोहन गरेको आरोप लगाउँदै आएका छन्। बलुचिस्तान व्यापारका दृष्टिले महत्त्वपूर्ण छ, जहाँ ग्वादरमा रहेको गहिरो समुद्री बन्दरगाह चीनलाई पाकिस्तान हुँदै अरब सागरसँग जोड्ने योजनाको प्रमुख नाका मानिन्छ।
गत महिना ट्रम्प प्रशासनले बलुचिस्तान प्रतिरोध मोर्चा (टिआरएफ) लाई पनि आतंकवादी सूचीमा राखेको थियो। रुबियोले यसलाई पाकिस्तानमा आधारित लश्कर–ए–तैयबा (एलईटी) को अर्को शाखा भएको बताएका थिए।
यसबीच, गत जुनमा ट्रम्पले पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई व्हाइट हाउसमा डिनरका लागि निम्त्याएका थिए। अमेरिकी प्रशासनले पाकिस्तानसँग प्राकृतिक स्रोत र क्रिप्टोकरेन्सी उद्योगमा विशेष जोड दिएर नयाँ लगानीको सम्भावना खोजिरहेको छ।
विश्लेषकहरूका अनुसार, पाकिस्तानसँग सम्बन्ध सुधार्ने रणनीतिअन्तर्गत अमेरिकाले बीएलएलाई आतंककारी सूचीमा राखेको हो। पाकिस्तानी समुद्री क्षेत्रमा ठूलो मात्रामा तेलको भण्डार रहेको र अमेरिका त्यसको उत्खननमा साझेदारी गर्न इच्छुक रहेको बताइएको छ। भारतमाथि ५० प्रतिशत भन्सार दर लगाएको अमेरिकाले ‘शत्रु देश’ मानिने पाकिस्तानका सेना प्रमुखलाई फेरि अमेरिका बोलाएर, मुनिरको भ्रमण अघि नै बलुचिस्तानी सशस्त्र समूहलाई आतंककारी घोषणा गरेर ‘रेड कार्पेट’ बिछ्याएको टिप्पणी गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस