Techie IT
२०८३ असोज २४, शनिबार

पनामामा ७.७ म्याग्निच्युडको महाभूकम्प: ऐतिहासिक संरचनाहरू ध्वस्त, ४६ लाख मानिस प्रभावित


मध्य अमेरिकी देश पनामामा ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ बजे (२०:०० जीएमटी) पनामाको मध्य भागमा पर्ने हेरेरा प्रान्तको पितालोसा अरिबा बस्तीबाट करिब १० किलोमिटर दक्षिण-पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार १० देखि १२ किलोमिटरको कम गहिराइमा गएको यो भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको थियो। युएसजिएसका अनुसार करिब ४६ लाख मानिसले तीव्र र मध्यम किसिमको धक्का महसुस गरेका छन्।

मुख्य भूकम्पलगत्तै ६.६ म्याग्निच्युडको अर्को ठूलो धक्कासहित ४५ भन्दा बढी पराकम्पहरू अभिलेख गरिएका छन्। जसका कारण देशभर त्रास फैलिएको छ।

भूकम्पका कारण विभिन्न सहरहरूमा ठूलो भौतिक क्षति पुगेको छ। पेनोनोमे र सोना सहरहरूमा बहुतले भवन तथा होटलहरू पूर्ण र आंशिक रूपमा ढलेका छन्। पेनोनोमेमा रहेको सन् १९३८ मा राष्ट्रिय ऐतिहासिक सम्पदा घोषित 'सान अतानासियो' ऐतिहासिक गिर्जाघर (चर्च) को एक भाग र गजुर ढलेको छ।

पेनोनोमे सहरमा संरचनाबाट खसेको भग्नावशेष लागेर एक जना घाइते भएका छन्। यस्तै, भेराग्वास प्रान्तलगायतका क्षेत्रमा सडकहरूमा ठूूला चिरा परेका छन्।

भूकम्पलगत्तै राजधानीस्थित तोकुमेन अन्तर्राष्ट्रिय विमानस्थलले केही समयका लागि उडान स्थगन गरे पनि शुक्रबार दिउँसोदेखि पुनः सञ्चालनमा ल्याइएको छ। विश्व व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण पानामा नहरको सञ्चालन भने सामान्य रहेको र कुनै क्षति नपुगेको नहर प्राधिकरणले जनाएको छ।

भूकम्पपछि पनामा, कोलम्बिया, इक्वेडर, निकारागुवा र ग्वाटेमालाका तटीय क्षेत्रमा जारी गरिएको सुनामी चेतावनी पछि हटाइएको छ। राष्ट्रपति होसे राउल मुलिनोले भूकम्पबाट हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण प्राप्त नभए पनि सरकारका सबै संयन्त्रहरू उद्धार र राहतमा परिचालन गरिएको बताएका छन्। 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोका साथै कोलम्बिया, चिली, उरुग्वे, कोस्टारिका र पेरुलगायतका देशहरूले पनामालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट