ट्रम्पले रक्षा मन्त्रालयको नाम ‘युद्ध मन्त्रालय’ राख्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालय (पेन्टागन) को नाम परिवर्तन गरी ‘युद्ध मन्त्रालय’ (Department of War) राख्ने तयारी गरिरहेका छन्। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले उक्त नाम परिवर्तन कार्यकारी आदेशमार्फत शुक्रबार नै अनुमोदन गर्नेछन्।
ट्रम्पले यस कदमलाई अमेरिकी सेनालाई कडा र आक्रामक छवि प्रदान गर्ने नवीनतम प्रयासका रूपमा लिइरहेका छन्। एशोसिएटेड प्रेसका अनुसार ह्वाइट हाउसका अधिकारीले बताएअनुसार ट्रम्पले पेन्टागनको दोस्रो नाम ‘युद्ध मन्त्रालय’ राख्ने गरी कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन्।
हालैको प्रक्रिया अनुसार यो नाम परिवर्तनलाई औपचारिक बनाउन संसदको अनुमोदन आवश्यक पर्छ। ट्रम्पले संसदमा प्रस्ताव पेस गर्ने तयारी पनि गरिरहेका छन्।
इतिहास अनुसार, ‘युद्ध मन्त्रालय’ सन् १७८९ मा स्थापना भएको थियो, त्यही वर्ष अमेरिकी संविधान लागू भएको थियो। दोस्रो विश्वयुद्ध समाप्त भएको दुई वर्षपछि सन् १९४७ मा यस मन्त्रालयको नाम परिवर्तन गरी ‘रक्षा मन्त्रालय’ (Department of Defense) राखिएको थियो।
रक्षामन्त्री पिट हेगसेथले पनि ट्रम्पको तयारीपछि सामाजिक सञ्जालमा ‘Department of War’ लेखेर आफ्नो समर्थन जनाएका थिए। एपीका अनुसार ट्रम्प र हेगसेथले लामो समयदेखि यो नाम परिवर्तनबारे छलफल गर्दै आएका छन्। मार्चमा हेगसेथले सामाजिक सञ्जालमार्फत यसबारे मत सर्वेक्षणसमेत गराएका थिए।
ट्रम्प र हेगसेथले विश्वास व्यक्त गरेका छन् कि रक्षा मन्त्रालयको नाम परिवर्तनले प्रथम र दोस्रो विश्वयुद्धको सम्झना दिलाउनेछ र अमेरिकी सैन्य शक्तिलाई थप आक्रामक र प्रभावशाली रूपमा प्रस्तुत गर्न प्रेरणा दिनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस