Techie IT
२०८२ असोज २१, मंगलबार

विश्वका विज्ञलाई आकर्षित गर्दे चीन, सुरु गर्‍यो नयाँ ‘K’ भिसा

विश्वका धनी व्यक्ति जस्तै इलन मस्क र अन्य ठूला प्रविधि कम्पनीका सीईओहरूले पनि एच–१बी भिसामा सुरुमा अमेरिकामा काम गरेका थिए


अमेरिकाले एच–१बी भिसामा कडाइ गरेपछि दक्ष विदेशी प्राविधिक प्रतिभा आकर्षित गर्न चीनले यसै हप्तिदेखि नयाँ भिसा कार्यक्रम सुरु गरेको छ।

अमेरिकामा विज्ञान, प्रविधि र अन्य क्षेत्रका दक्ष विदेशी जनशक्तिलाई भित्र्याउन एच–१बी भिसा प्रयोग हुन्छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लागू गरेको नियमअनुसार, एच–१बी भिसामा कर्मचारी ल्याउने रोजगारदाता कम्पनीले अमेरिकी सरकारलाई १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने भएको छ।

यसको प्रभावले संसारभरिका दक्ष जनशक्तिलाई अमेरिका जान गाह्रो बनाएको छ। यो अवसरको फाइदा उठाउँदै चीनले नयाँ ‘के’ भिसा ल्याएको हो। यस कार्यक्रमले अमेरिकासँगको भू-राजनीतिक प्रतिस्पर्धामा चीनलाई फाइदा पुर्याउने अपेक्षा गरिएको छ।

चीन विश्वमा सबैभन्दा धेरै इन्जिनियर उत्पादन गर्ने देश हो, तर अमेरिकाले दक्ष विदेशी जनशक्तिको प्रवेशमा बाधा पुर्‍याएपछि चीनले आफूलाई विदेशी लगानी र प्रतिभा दुवैका लागि स्वागतयोग्य देशको रूपमा देखाउने रणनीति अपनाएको हो।

पछिल्लो समय चीनले विदेशी लगानी र पर्यटक आकर्षित गर्न विभिन्न उपायहरू अपनाएको छ। विदेशी लगानीकर्ताका लागि नयाँ क्षेत्र खुला गरेको छ भने युरोपेली देश, जापान र दक्षिण कोरिया लगायतका नागरिकलाई भिसा छुटको सुविधा पनि दिएको छ।

अमेरिकाको आयोवा राज्यका अध्यागमन वकिल म्याट माउन्टेल–मेडिसीका अनुसार, “यसको सांकेतिक अर्थ शक्तिशाली छ: जब अमेरिकाले बाधा खडा गरिरहेको छ, चीनले बाधा घटाइरहेको र विज्ञलाई स्वागत गर्न ढोका खोलिदिएको छ ।”

अगस्टमा घोषणा गरिएको ‘के’ भिसा कार्यक्रमले विदेशबाट आउने युवा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) का स्नातकलाई लक्षित गरेको छ। यसले रोजगारदाताबाट कामको प्रस्ताव नभए पनि प्रवेश, बसोबास र रोजगारीको अनुमति दिने वाचा गरेको छ। अमेरिकी रोजगारीको विकल्प खोजिरहेका दक्ष विदेशी कामदारका लागि यो भिसा आकर्षक हुन सक्ने रोयटर्सले उल्लेख गरेको छ।

विश्लेषकका अनुसार, विश्वका धनी व्यक्ति जस्तै इलन मस्क र अन्य ठूला प्रविधि कम्पनीका सीईओहरूले पनि एच–१बी भिसामा सुरुमा अमेरिकामा काम गरेका थिए । तर अमेरिकाले यस भिसामा कडाइ गरेपछि आफ्नै लागि दक्ष प्रतिभा आकर्षित गर्न चुनौती थपेको छ । यस्तो अवस्थामा चीनले सुरु गरेको ‘के’ भिसाले दक्ष विदेशी जनशक्तिलाई आकर्षित गर्ने संभावना बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट