Techie IT
२०८२ असोज २८, मंगलबार

अमेरिकाको टेनेसीमा सैन्य विस्फोटक कारखानामा विस्फोट, १९ जना बेपत्ता


अमेरिकाको टेनेसी राज्यमा रहेको सैन्य विस्फोटक पदार्थ निर्माण गर्ने एक कारखानामा शुक्रबार भएको ठूलो विस्फोटमा कम्तीमा १९ जना बेपत्ता भएका छन्।

हम्फ्रिज काउन्टीका शेरिफ क्रिस डेभिसका अनुसार यो शक्तिशाली विस्फोटले कारखानालाई पूर्ण रूपमा ध्वस्त बनाएको छ। उनले चारदेखि पाँच जनालाई अस्पताल पठाइएको र केहीको मृत्यु पुष्टि भएको जानकारी दिएका छन्।

विस्फोट नासभिलबाट करिब ९० किलोमिटर दक्षिण–पश्चिममा पर्ने बक्सनोर्ट, टेनेसीस्थित Accurate Energetic Systems कम्पनीमा भएको हो। उक्त कम्पनी विस्फोटक पदार्थको विकास, निर्माण, ह्यान्डलिङ र भण्डारणमा विशेषज्ञता राख्छ। विस्फोटको कारण भने अझै स्पष्ट हुन सकेको छैन।

घटनास्थलका भिडियोहरूमा जलेको भग्नावशेष, धुवाँ उडिरहेका गाडीहरू र कारखानाको केही भाग मात्र सग्लो रहेको देखिन्छ।

पहिलो मिडिया ब्रिफिङका क्रममा शेरिफ डेभिस अत्यन्त भावुक बनेका थिए । उनले विस्फोट हुँदा प्लान्ट सञ्चालनमा रहेको र थप विस्फोटको जोखिमका कारण उद्धारकर्मीहरूलाई टाढा राखिएको बताएका छन् ।

‘हामीले १९ आत्मा गुमाइसकेका छौं,’ डेभिसले भावुक हुँदै भने। उनका अनुसार बिहान काम सुरु गरिरहेका मजदुरहरू हाल बेपत्ता वा मृत हुन सक्ने आशंका गरिएको छ ।

घण्टौंपछि भएको दोस्रो ब्रिफिङमा उनले विस्फोट अत्यन्त शक्तिशाली भएको र यसले करिब आधा वर्ग माइलसम्म भग्नावशेष भएको जानकारी दिएका छन् । विस्फोटको आवाज प्लान्टबाट करिब २५ किलोमिटर टाढा रहेको वेभर्ली सहरसम्म सुन्न सकिएको बताइएको छ।

विस्फोट दुर्घटना थियो वा योजनाबद्ध रूपमा गरिएको भन्नेबारे शेरिफले कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन्। टेनेसीका गभर्नर बिल लीले यो ‘दुःखद घटना’ भएको भन्दै आफ्नो कार्यालयले अवस्थाको नजिकबाट निगरानी गरिरहेको सामाजिक सञ्जालमार्फत् जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट