रूस–युक्रेन युद्ध टुंग्याउन ट्रम्पको नयाँ दाउः २० बुँदे शान्ति योजनामा युक्रेन सहमत, रुस अझै मौन
रूस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले दुवै देशसँग कूटनीतिक छलफल तीव्र पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ ज्यारेड कुश्नरमार्फत मस्को र किभसँग शान्ति सम्झौताका विषयमा वार्ता अघि बढाएका हुन्।
क्रिसमसअघि नै युद्धविराम हुने दाबी गरेका ट्रम्पको अनुमान पूरा हुन सकेन। मुख्यतः जमिनको नियन्त्रण (Territory Control) विषयमा दुवै पक्षबीच सहमति नजुट्दा वार्ता अल्झिएको छ।
रूसले पूर्वी दोनेत्स्क क्षेत्रबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने अडान दोहोर्याइरहेको छ। तर युक्रेनले उक्त क्षेत्र पूर्ण रूपमा रुसको नियन्त्रणमा नरहेको दाबी गर्दै आएको छ।
यसैबीच ट्रम्पले विवादित क्षेत्रलाई स्वतन्त्र आर्थिक क्षेत्र बनाउने प्रस्ताव अघि सारेका छन्। युक्रेन यसमा सहमत देखिए पनि रुसले अहिलेसम्म स्पष्ट प्रतिक्रिया दिएको छैन।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार युक्रेन अमेरिकाले तयार पारेको २० बुँदे नयाँ शान्ति योजनामा सहमत भइसकेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त योजना मस्कोलाई पठाइसकेको जानकारी पत्रकार सम्मेलनमार्फत दिएका छन्।
जेलेन्स्कीका अनुसार यो नयाँ प्रस्ताव अघिल्लो महिना ट्रम्पले ल्याएको २८ बुँदे योजना भन्दा पूर्ण रूपमा फरक छ। अघिल्लो योजनामा रुसलाई फाइदा पुग्ने गरी युक्रेनले कब्जा गुमाउनुपर्ने, सेना संख्या घटाउनुपर्ने र नेटो सदस्यताको आकांक्षा त्याग्नुपर्ने जस्ता बुँदा समेटिएका थिए।
युरोपेली सहयोगी राष्ट्रहरू असन्तुष्ट देखिएपछि ट्रम्पले योजना परिमार्जन गर्दै युक्रेन अनुकूल बनाएको जेलेन्स्कीले बताएका छन्।
परिमार्जित योजनाअनुसार युक्रेनले हालकै ८ लाख सैनिक संख्या कायम राख्नेछ, जसको खर्च अमेरिका र युरोपेली साझेदार राष्ट्रहरूले व्यहोर्नेछन्। साथै, युद्धविराम निगरानी संयन्त्र र रुसबाट पुनः आक्रमण भए तत्काल जवाफ दिने स्पष्ट सुरक्षा व्यवस्था समावेश गरिएको छ।
शान्ति सम्झौतामा युरोपेली संघ सदस्यताको मार्गचित्र पनि समेटिएको छ। युक्रेनले निश्चित मिति चाहेको भए पनि युरोपेली संघको धारणा अझै स्पष्ट छैन।
सुरक्षा ग्यारेन्टीअन्तर्गत अमेरिकासँग द्विपक्षीय सुरक्षा सम्झौता, अमेरिकी कांग्रेसबाट अनुमोदन, र युरोपेली देशहरूको स्थल, जल र हवाई सैन्य सहयोग रहने उल्लेख छ। केही युरोपेली मुलुक युक्रेनमा सेना तैनाथ गर्न तयार देखिए पनि रुसले यसको कडा विरोध गर्दै आएको छ।
योजनामा युद्धबन्दी र थुनामा रहेका सर्वसाधारणको रिहाइ, शान्ति सम्झौतापछि शीघ्र निर्वाचन गराउने प्रतिबद्धता, र सम्पर्क रेखा निगरानी संयन्त्र पनि समावेश छन्।
युद्धपछिको पुनर्निर्माणमा अमेरिकी आर्थिक हितलाई प्राथमिकतामा राख्दै ‘युक्रेन डेभलपमेन्ट फन्ड’ स्थापना गर्ने प्रस्ताव गरिएको छ। प्रविधि, डाटा सेन्टर, कृत्रिम बुद्धिमत्ता, ऊर्जा तथा पूर्वाधार क्षेत्रमा अमेरिकी–युक्रेनी कम्पनीबीच सहकार्य गरिनेछ।
योजनामा युक्रेनका खनिज तथा प्राकृतिक स्रोत उत्खनन पनि समेटिएको छ। युद्धपछिको पुनःस्थापनाका लागि करिब ८ खर्ब अमेरिकी डलर जुटाउने लक्ष्य राखिएको छ।
तर सबैभन्दा संवेदनशील विषय जमिनको नियन्त्रण रेखामा अझै सहमति हुन सकेको छैन। जापोरिज्जिया आणविक विद्युत् केन्द्रको भविष्य पनि अनिश्चित छ। रुसको नियन्त्रणमा रहेको युरोपकै ठूलो आणविक केन्द्र वरिपरि स्वतन्त्र आर्थिक क्षेत्र बनाउने प्रस्ताव किभले अघि सारेको छ।
२० बुँदे नयाँ प्रस्ताव अब मस्कोमा अध्ययनका लागि पठाइनेछ। त्यसपछि आगामी रणनीति तय हुने जेलेन्स्कीले बताएका छन्। ‘यदि सबै संवेदनशील विषयमा सहमति जुट्छ भने सम्झौता सम्भव छ,’ उनले भने, ‘नत्र युद्ध जारी रहने वा वैकल्पिक आर्थिक संरचना रोज्नुपर्ने अवस्था आउन सक्छ।’



तपाईको प्रतिक्रिया दिनुहोस