इरानका रक्षामन्त्री र सेना प्रमुख मारिएको दाबी
अमेरिका र इसराइलको संयुक्त हमलामा इरानका रक्षामन्त्री र सरकारी सेनाका प्रमुख मारिएको इरानी अर्धसरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ।
एजेन्सीका अनुसार शनिबार बिहानको आक्रमणमा रक्षामन्त्री अजिज नासिरजादेह र सरकारी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुलरहिम मौसावीको मृत्यु भएको आइतबार इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमले पुष्टि गरेको हो।
लेफ्टिनेन्ट जनरल मौसावी गत वर्ष जुनमा सशस्त्र बल प्रमुख नियुक्त भएका थिए। त्यतिबेला इसराइलले गरेको हमलामा तत्कालीन सेना प्रमुखको मृत्यु भएपछि खामेनीले मौसावीलाई प्रमुख नियुक्त गरेका थिए।
यसअघि शनिबारकै हमलामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजिसी) का प्रमुख मेजर जनरल मोहम्मद पाकपुर र रक्षा मन्त्रालयका सल्लाहकार सचिव अली शमखानीको मृत्यु भएको पुष्टि भइसकेको छ। आईआरजिसी इरानको सबैभन्दा शक्तिशाली सुरक्षा संरचनामध्ये एक मानिन्छ।
यसैबीच, उक्त हमलामा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको पनि मृत्यु भएको दाबी गरिएको छ। शनिबार भएको घटनाको औपचारिक पुष्टि भने आइतबार सार्वजनिक गरिएको जनाइएको छ।
यद्यपि, यी दाबीहरूबारे स्वतन्त्र अन्तर्राष्ट्रिय स्रोतबाट थप पुष्टि आउन बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस