ट्रम्प प्रशासनको कडा कदम: गाभीमार्फत डब्ल्यूएचओलाई दिइने अमेरिकी कोष कटौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वव्यापी खोप गठबन्धन 'गाभी' (Gavi) लाई ६० करोड डलर सहयोग गर्ने घोषणा गरेको छ। तर सोही निर्णयसँगै गाभीमार्फत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई प्रवाह हुँदै आएको अमेरिकी सरकारी कोष भने रोक्ने निर्णय गरेको छ। यो कदमलाई संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायका लागि ठूलो वित्तीय धक्काका रूपमा हेरिएको छ।
अमेरिकी विदेश मन्त्रालय र स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले संयुक्त वक्तव्य जारी गर्दै यसको जानकारी दिएका हुन्। राष्ट्रपति ट्रम्पले स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट केनेडी जुनियर र विदेशमन्त्री मार्को रुबियोलाई गाभीसँग सुधारका विषयमा वार्ता गरी सर्तसहित मात्र सहयोग जारी राख्न निर्देशन दिएका थिए।
अमेरिकी प्रशासनको दबाबपछि गाभीले आफ्ना सञ्चालक समिति तथा साझेदारहरूसँगको सहकार्यमा पारायुक्त खोपको स्थानमा पारामुक्त विकल्प प्रयोग गर्ने दिशामा काम गर्न सहमति जनाएको विदेश मन्त्रालयले जनाएको छ। रिपब्लिकन सिनेटर सुसान कोलिन्सले यस निर्णयको स्वागत गरेकी छन्।
डब्ल्यूएचओसँग ट्रम्पको सम्बन्ध विगतदेखि नै तनावपूर्ण रहँदै आएको छ। सन् २०२० मा कोरोना महामारीका बेला डब्ल्यूएचओले चीनको पक्षमा 'भ्रामक सूचना' प्रवाह गरेको आरोप लगाउँदै ट्रम्पले कोष रोक्ने निर्णय गरेका थिए। यद्यपि, सन् २०२१ मा राष्ट्रपति जो बाइडेनले उक्त निर्णय उल्टाउँदै सहयोग पुनः सुरु गरेका थिए। तर, सन् २०२५ को जनवरी २० मा आफ्नो दोस्रो कार्यकाल सुरु भएकै दिन ट्रम्पले अमेरिका डब्ल्यूएचओबाट बाहिरिने र आर्थिक योगदान रोक्ने औपचारिक घोषणा गरेका थिए।
करिब ३.४ अर्ब डलर वार्षिक बजेट रहेको डब्ल्यूएचओले विश्वभरका कमजोर स्वास्थ्य सेवा भएका देशहरूमा पोलियो, क्षयरोग, एचआईभी, मलेरिया र दादुराजस्ता रोगहरूको रोकथाम तथा उपचारका लागि काम गर्दै आएको छ। यसका साथै गाजा, सुडान र कंगोलगायतका द्वन्द्वग्रस्त क्षेत्रमा स्वास्थ्य आपत्काल सम्बोधन गर्न पनि डब्ल्यूएचओको भूमिका महत्त्वपूर्ण रहन्छ। अमेरिकी सहयोग कटौतीले यी संवेदनशील स्वास्थ्य कार्यक्रमहरूमा प्रत्यक्ष असर पर्न सक्ने विश्लेषण गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस