Techie IT
२०८३ श्रावण २०, बुधबार

भेनेजुएलामा निर्वाचन गराउन अमेरिकी सिनेटरहरूको दबाब


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाई उनका उपराष्ट्रपतिलाई कार्यवाहक राष्ट्रपतिका रूपमा स्थापित गरेको सात महिनापछि, अमेरिकी सिनेटरहरूले भेनेजुएलामा तत्काल निर्वाचन गराउन माग गरेका छन्। रिपब्लिकन र डेमोक्र्याट दुवै दलका सिनेटरहरूले मङ्गलबार संयुक्त रूपमा संसदमा एक प्रस्ताव प्रस्तुत गर्दै भेनेजुएलामा निर्वाचनका लागि अमेरिकी समर्थन पुनः पुष्टि गरेका हुन्।

रिपब्लिकन सिनेटर टेड क्रुज र डेमोक्र्याट सिनेटर जिन शाहीन्द्वारा प्रस्तुत उक्त प्रस्तावमा सबै राजनीतिक बन्दीहरूलाई निःसर्त रिहा गर्नुपर्ने तथा सार्वजनिक पदका लागि उम्मेदवारी दिने व्यक्तिलाई क्षति पुर्‍याउने कार्यमा संलग्न जोसुकैलाई वरिष्ठ सरकारी अधिकारी भए पनि कानूनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ।

यो द्विदलीय प्रस्ताव ट्रम्प प्रशासनले भेनेजुएला सरकारलाई स्वतन्त्र र निष्पक्ष निर्वाचनतर्फ अघि बढाउन प्रभावकारी कदम नचालेको भन्दै आलोचना बढिरहेका बेला आएको हो। हाल भेनेजुएलाको अन्तरिम सरकारको नेतृत्व कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले गरिरहेकी छिन्।

भेनेजुएला सरकार र विपक्षी समूहको एक घटकबीच आगामी केही दिनमा वार्ता सुरु हुने तयारी छ। तर, देशकी सबैभन्दा लोकप्रिय विपक्षी नेतृ मारिया कोरिना माचाडो भने उक्त वार्तामा सहभागी नहुने बताइएको छ।

विदेश सम्बन्ध समितिका वरिष्ठ सदस्य क्रुजले भेनेजुएलाका जनताले स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचन पाउनुपर्ने र ती निर्वाचन शीघ्र सम्पन्न हुनु अमेरिकाको राष्ट्रिय सुरक्षा हितका लागिसमेत अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्। समितिकी प्रमुख डेमोक्र्याट सदस्य शाहीन्ले पनि काराकासका अधिकारीहरूले सबै राजनीतिक बन्दीलाई रिहा गरी माचाडोसहितका राजनीतिक नेताहरूलाई देश फर्कन र राजनीतिक गतिविधिमा सुरक्षित रूपमा सहभागी हुन दिनुपर्ने माग गरिन्। उक्त प्रस्तावलाई थप पाँच जना सिनेटर (चार डेमोक्र्याट र एक रिपब्लिकन) ले समर्थन गरेका छन्।

माचाडोको फिर्तीलाई लिएर विवाद
नोबेल शान्ति पुरस्कार विजेता माचाडो गत वर्षको अन्त्यतिर पुरस्कार ग्रहण गर्न भेनेजुएलाबाट बाहिरिएकी थिइन्। सन् २०२४ को राष्ट्रपतीय निर्वाचनपछि उनी लामो समयसम्म लुकेर बसेकी थिइन्। उनले गत जुनमा गएको विनाशकारी दोहोरो भूकम्पपछि राहत तथा पुनःस्थापनाका काममा सहयोग गर्न देश फर्कने प्रतिबद्धता जनाएकी छन्। तर, अमेरिकी अधिकारीहरूले अहिले उनको फिर्तीको उपयुक्त समय नभएको ठम्याएका छन्। राष्ट्रपति ट्रम्पले भने आफ्नो प्रशासनले माचाडोलाई भेनेजुएला नफर्कन निर्देशन दिएको भन्ने सञ्चारमाध्यमका रिपोर्टहरू खारेज गरेका छन्।

मादुरोलाई सत्ताबाट हटाइएपछि वासिङ्टनले माचाडोलाई पटक–पटक राजनीतिक रूपमा पन्छाउँदै आएको छ। अमेरिकी अधिकारीहरूले उनलाई देशको नेतृत्व गर्न आवश्यक पर्ने पर्याप्त राजनीतिक समर्थन नरहेको दाबी गर्दै आएका छन्।

यसैबीच, भेनेजुएलामा वास्तविक राजनीतिक परिवर्तन र लोकतान्त्रिक निर्वाचन सुनिश्चित गर्न ट्रम्प प्रशासनमाथि दबाब बढ्दै गएको छ। नयाँ अमेरिकी सिनेट प्रस्तावले मादुरोपछि स्थापित अन्तरिम राजनीतिक व्यवस्थालाई निर्वाचनमार्फत वैधता दिनुपर्ने मुद्दालाई पुनः अमेरिकी राजनीतिक बहसको केन्द्रमा ल्याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट