Techie IT
२०८३ असोज ६, मंगलबार

अमेरिकामा जन्मसिद्ध नागरिकतामा कडाइ, यस्तो छ ट्रम्पको नयाँ कार्यकारी आदेश


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने उद्देश्यले दुईवटा नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। केही साताअघि मात्र अमेरिकी सर्वोच्च अदालतले यससम्बन्धी उनको यस अघिको प्रयासलाई खारेज गरिदिएको थियो।

बिहीबार ओभल अफिसबाट हस्ताक्षर गरिएका यी दुई आदेशमध्ये पहिलोले गैर-अमेरिकी नागरिकका सन्तानहरू जन्मसिद्ध नागरिकता पाउन अयोग्य हुने दायरालाई थप विस्तार गरेको छ। दोस्रो आदेशले 'बर्थ टुरिज्म' अर्थात् गर्भवती महिलाहरू बच्चा जन्माउन मात्र अमेरिका आउने अभ्यासमा प्रतिबन्ध लगाएको छ।

आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, “यो काम धेरै वर्षअघि नै हुनुपर्ने थियो, अहिले हामी यसलाई सुल्झाउँदै छौँ।” साथै, उनले डेढ शताब्दीभन्दा पुरानो यो नीति अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयासलाई सर्वोच्च अदालतले अस्वीकार गरेकोप्रति असन्तुष्टि समेत व्यक्त गरेका थिए ।

नयाँ आदेशका मुख्य व्यवस्थाहरू

नागरिकतामा थप प्रतिबन्ध: नयाँ आदेशअनुसार, यदि बच्चा जन्माउने दुवै अभिभावक गैर-अमेरिकी नागरिक हुन् र उनीहरूमध्ये एक जना विदेशी आतंकवादी समूहको सदस्य भए, विदेशी सरकारको कर्मचारी भए, ठगी वा जालसाजी गरेर नागरिकता लिन खोजेको भए, वा संघीय कानुनअनुसार जन्मसिद्ध नागरिकता लागू नहुने क्षेत्रमा बसोबास गरिरहेको भए त्यस्ता शिशुले स्वतः अमेरिकी नागरिकता पाउने छैनन्।

बर्थ टुरिज्ममा प्रतिबन्ध: दोस्रो आदेशले पर्यटकको रूपमा अमेरिका आएर बच्चा जन्माउने र ती बच्चालाई स्वतः अमेरिकी नागरिक बनाउने प्रवृत्तिलाई रोक्ने लक्ष्य लिएको छ। ट्रम्प प्रशासनले रुस र चीनजस्ता देशका नागरिकले यसको दुरूपयोग गरेको दाबी गरेको छ।

ह्वाइट हाउसका उपप्रमुख तथा होमल्यान्ड सुरक्षा सल्लाहकार स्टीफन मिलरले पर्यटकको बहाना बनाएर अमेरिका छिर्ने र पछि ती बालबालिकाले अमेरिकी नागरिकका रूपमा सामाजिक सुविधा तथा मतदान अधिकार प्राप्त गर्ने भएकाले यो अभ्यास रोक्नुपर्ने बताएका छन् । अध्यागमन तथा राष्ट्रियता कानुनको एक खण्डले राष्ट्रपतिलाई देशमा प्रवेश गर्नेहरूमाथि सीमा तथा प्रतिबन्ध लगाउने अधिकार दिएको प्रशासनको तर्क छ।

सन् २०२५ मा दोस्रो कार्यकाल सुरु गरेलगत्तै ट्रम्पले अमेरिकी संविधानको १४औँ संशोधनले सुनिश्चित गरेको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रयास गरेका थिए। तर, गत जुनमा सर्वोच्च अदालतले ट्रम्पको उक्त नीतिलाई बदर गरिदिएको थियो।

कानूनविद्हरूका अनुसार, राष्ट्रपतिलाई पर्यटकको रूपमा प्रवेश गर्नेहरूमाथि रोक लगाउने केही अधिकार भए पनि अमेरिकाभित्र जन्मिसकेको बच्चाको नागरिकता खोस्ने अधिकार कार्यकारी प्रमुखलाई नभएकोले नयाँ आदेशहरूले गम्भीर संवैधानिक प्रश्नहरू खडा गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट