श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले गरे पदभार ग्रहण
श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिशानायकेले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके श्रीलंकाका नवौं राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए।
कोलम्बोबाट करिब १७७ किलोमिटर टाढा रहेको थम्बुथेगामा भन्ने स्थानमा ग्रामीण मध्यम वर्गीय परिवारमा जन्मिएका दिशानायकेले विज्ञानमा डिग्री हासिल गरेका छन्। उनी स्कुले जीवनदेखि नै जनता विमुक्ति पेरामुना (जेभीपी) मा आबद्ध हुँदै वामपन्थी राजनीतिमा संलग्न भएका थिए।
शपथ ग्रहणपछि राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति दिशानायकेले सत्ता हस्तान्तरणको प्रक्रियामा सहकार्य र सम्मानको उदाहरण प्रस्तुत गरेकोमा निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेप्रति आभार व्यक्त गरे। साथै, उनले आफ्नो कार्यकालमा लोकतान्त्रिक मूल्य र मान्यता कायम राख्ने प्रतिबद्धता जनाउँदै राष्ट्रको समृद्धिका लागि ठोस कदम चाल्ने बताएका छन्।
देशमा रहेका गहिरो संकटको समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै उनले भने, “यो संकट कुनै एक व्यक्ति, पार्टी वा सरकारको प्रयासले मात्र समाधान हुन सक्दैन। म कुनै जादुगर होइन, म पनि यहाँका अरू नागरिकहरूजस्तै एक साधारण व्यक्ति हुँ।”
उनले समावेशी नेतृत्वमा जोड दिँदै ज्ञान र प्रतिभालाई एकीकृत गरेर राज्य सञ्चालनमा सन्तुलित र जिम्मेवार निर्णय लिने प्रतिबद्धता व्यक्त गरे।



तपाईको प्रतिक्रिया दिनुहोस