अपरेशन सिंदूर’को असर : भारतीय एयरलाइन्सहरूद्वारा ट्राभल एडभाइजरी जारी, धेरै उडानहरू रद्द

भारतले पाकिस्तानमाथि ‘अपरेशन सिंदूर’ सञ्चालन गरेपछि उत्तर भारतका विभिन्न क्षेत्रहरूमा हवाई सुरक्षा सतर्कता बढाइएको छ । यसको असर देशका प्रमुख एयरलाइन्सहरूको उडान सेवामा देखिएको छ ।
एयर इन्डिया, स्पाइसजेट र इन्डिगो जस्ता प्रमुख एयरलाइन्सहरूले यात्रुहरूलाई ट्राभल एडभाइजरी जारी गर्दै सतर्क रहन आग्रह गरेका छन् । उनीहरूले उत्तर भारतका थुप्रै विमानस्थलहरूबाट उडानहरू रद्द वा डाइभर्ट गरिएको जानकारी दिएका छन् ।
एयर इन्डियाले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेको छ, “७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोट जाने–आउने सबै उडानहरू रद्द गरिएको छ ।” साथै, अमृतसरका लागि तय दुई अन्तर्राष्ट्रिय उडानलाई दिल्ली डाइभर्ट गरिएको पनि एयर इन्डियाले उल्लेख गरेको छ ।
स्पाइसजेटले धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसर लगायतका उत्तर भारतीय विमानस्थलहरू अर्को सूचनासम्मका लागि बन्द गरिएको जनाएको छ ।
त्यस्तै इन्डिगोले पनि श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ़ र धर्मशालाका उडानहरू प्रभावित भएको जानकारी दिएको छ ।
तीनवटै एयरलाइन्सले यात्रुहरूलाई यात्रापूर्व आफ्नो फ्लाइटको अवस्थाबारे जानकारी लिएर मात्र विमानस्थल पुग्न आग्रह गरेका छन् ।
सैन्य अपरेशनका कारण देखिएको यो स्थितिले आगामी दिनमा हवाई यातायातमा थप असर पार्न सक्ने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस