Techie IT
२०८२ जेष्ठ १, बुधबार

अमेरिका-साउदी अरबबीच १४२ अर्ब डलरको हतियार सम्झौता


अमेरिका र साउदी अरेबियाबीच करिब १४२ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणका क्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो सम्झौता अमेरिकी इतिहासकै सबैभन्दा ठूलो रक्षा सहयोग सम्झौतामध्ये एक हो ।

ट्रम्प हाल खाडी मुलुकहरूको भ्रमणमा छन्, जसअन्तर्गत साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) सामेल हुनेछन् । भ्रमणको पहिलो दिन साउदी अरबसँग गरिएको यो रक्षा सम्झौताले दुई मुलुकबीचको रणनीतिक साझेदारी झन बलियो बनाउने विश्वास गरिएको छ।

सम्झौताअनुसार अमेरिका साउदीलाई मिसाइल प्रणाली, क्षेप्यास्त्र, लडाकु विमान, र समुद्री सुरक्षासम्बन्धी अत्याधुनिक हतियारहरू बिक्री गर्नेछ । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "यो सम्झौता अमेरिका–साउदी सम्बन्धमा रक्षा सहकार्यको नयाँ अध्याय हो ।"

रोयटर्सका अनुसार अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनले उत्पादन गर्ने C-130 परिवहन विमान, मिसाइल तथा रडार प्रणाली साउदीलाई बेचिने अपेक्षा गरिएको छ । यद्यपि कुन कुन प्रकारका हतियार अन्तिमरूपमा सम्झौतामा परेका छन् भन्ने विषयमा ह्वाइट हाउसले विस्तृत जानकारी दिएको छैन ।

विशेषगरी लकहिडको अत्याधुनिक एफ-३५ लडाकु विमान साउदी अरेबियाको प्राथमिकतामा रहेको बताइएको छ। साउदीले यो विमान खरिदको चाहना वर्षौंदेखि व्यक्त गर्दै आएको छ । ट्रम्प र साउदी नेताबीचको बैठकमा एफ-३५ को विषयमा छलफल भएको भए पनि अमेरिकाले स्पष्ट उत्तर दिएको छैन ।

उक्त विमान इजराइलले सन् २०१६ देखि प्रयोग गर्दै आएको छ । यदि साउदीले एफ-३५ प्राप्त गरेमा, इजराइलपछि यो विमान सञ्चालन गर्ने दोस्रो मध्यपूर्वी देश बन्नेछ ।

स्मरण रहोस्, सन् २०१७ मा पनि राष्ट्रपति ट्रम्पले साउदीलाई ११० अर्ब डलरको हतियार बिक्रीको प्रस्ताव गरेका थिए । त्यसको एक वर्षभित्रै करिब १४.५ अर्ब डलर मूल्यका हतियार बिक्री भएका थिए ।

विश्लेषकहरूका अनुसार यो सम्झौताले अमेरिकी रक्षा उद्योगलाई आर्थिक रूपमा बलियो बनाउनेछ भने साउदी अरेबियालाई क्षेत्रीय सुरक्षा सन्तुलनमा थप प्रभावशाली बनाउनेछ । तर यस कदमले इरान र इजराइलसँगको सम्बन्धमा भने थप संवेदनशीलता ल्याउने सम्भावना पनि रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट