मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दाबी, अर्बपतिहरूबीचको विवादले बढायो राजनीतिक तनाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्कमाथि कडा टिप्पणी गर्दै ‘उनले सोच्ने शक्ति गुमाएको’ दाबी गरेका छन् । विश्वका दुई शक्तिशाली र चर्चित अर्बपतिहरूबीच सार्वजनिक रूपमा बढ्दै गएको टकरावले अमेरिकी राजनीति र अर्थतन्त्रमा थप तनाव उत्पन्न गराएको विश्लेषण गरिएको छ।
ह्वाइट हाउस स्रोतका अनुसार राष्ट्रपति ट्रम्पले एलन मस्कसँग वार्ता गर्ने सोच त्याग गरिसकेको छन् । एयर फोर्स वानमार्फत न्यूजर्सीस्थित गल्फ क्लब जाँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “म चीन, रुस, इरानसँगको छलफलमा व्यस्त छु । म मस्कबारे सोचिरहेको छैन । म उनको राम्रो कामको लागि शुभकामना दिन्छु ।”
तर मस्कबारेको टिप्पणी यत्तिमा मात्रै सीमित भएन । एबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले भने, “तपाईंको मतलब सोच्ने शक्ति गुमाएको मान्छे ?” फक्स न्यूजसँग थप्दै उनले मस्कले वास्तवमै आफ्नो ‘सोच्ने शक्ति गुमाएका’ आरोप लगाए ।
यसअघि मस्कले ट्रम्पको खर्च विधेयकलाई ‘घृणित’ भनेपछि राष्ट्रपति ट्रम्पले ओभल अफिसबाट मस्कप्रति गहिरो निन्दा व्यक्त गर्दै टिप्पणी गरेका थिए । ट्रम्पको भनाइले मस्कसँगको सम्बन्ध पूर्णतः चिसिएको संकेत दिएको छ ।
मस्कले सरकारसँगको सम्झौता अन्तर्गत चलिरहेको अर्बौं डलरको रकेट तथा स्याटेलाइट कार्यक्रम डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डिओजिई) मार्फत लागत कटौतीको नेतृत्व गरिरहेका थिए । तर हालै मस्कले चार महिनापछि उक्त भूमिकाबाट राजीनामा दिने निर्णय गरेका छन् ।
ट्रम्प प्रशासनले अब मस्कको स्पेसएक्ससँग भएका ठूला सरकारी सम्झौताहरूको पुनरवलोकन गर्ने तथा बन्द गर्ने संकेत दिएको छ । “यो धेरै पैसा हो, धेरै अनुदान हो । हामी हेर्छौं, यदि यो देशको लागि सही हुन्छ भने मात्रै अघि बढाइनेछ,” ट्रम्पले भने ।
सामाजिक सञ्जालमा बढ्दो शत्रुता कम गर्न मस्कले अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष केन्द्रसम्म पठाउने स्पेसएक्सको ‘ड्रागन’ अन्तरिक्ष यान परियोजना रद्द गर्ने चेतावनी भने शुक्रबार फिर्ता लिएका छन् ।
विश्लेषकहरूले यस विवादलाई अर्बपतिहरूको व्यक्तिगत तिक्तता मात्र नभई, आगामी चुनावी रणनीति र सरकारी साझेदारीमा गम्भीर प्रभाव पार्ने संकेतको रूपमा लिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस