कम्तिमा तीन सन्तान जन्माउनु होस्

टर्की अहिले एक नयाँ संकटको सामना गरिरहेको छ, जुन न त आर्थिक हो न त राजनीतिक। यो संकट देशको जनसंख्यामा देखिएको तीव्र गिरावटसँग सम्बन्धित छ । टर्कीमा महिलाहरूले बच्चा जन्माउने दर घटाउँदै लगेका छन्, यसले राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई गम्भीर चिन्तामा पारेको छ ।
राष्ट्रपति एर्दोगानले घट्दो जन्मदरलाई "युद्धभन्दा ठूलो खतरा" भन्दै यस समस्यालाई राष्ट्रिय प्राथमिकता दिएका छन् । सरकार जन्मदर बढाउने उद्देश्यले विभिन्न प्रोत्साहन नीति ल्याउँदैछ । यसै क्रममा सन् २०२५ लाई 'परिवारको वर्ष' घोषणा गरिएको छ भने एर्दोगानले सन् २०२६ बाट ‘परिवारको दशक’ सुरु हुने घोषणा गरिसकेका छन् ।
तर टर्की अहिले गहिरो आर्थिक संकटमा फसेको छ । यस्तो अवस्थामा महिलाहरूलाई कम्तिमा तीन सन्तान जन्माउन गरेको अपील तथा नवविवाहित जोडीलाई दिइने भनिएको आर्थिक सहायता पर्याप्त नहुन सक्ने देखिन्छ।
आधिकारिक तथ्यांकअनुसार, सन् २००१ मा प्रति महिला २.३८ को जन्मदर रहेकोमा सन् २०२५ को सुरुवातसम्म त्यो दर घटेर १.४८ मा झरेको छ। यो दर फ्रान्स, बेलायत वा अमेरिका भन्दा समेत कम हो। एर्दोगानले यो अवस्थालाई "विपत्ति"को रूपमा व्याख्या गरेका छन् ।
२२ वर्षदेखि सत्ता सम्हालिरहेका एर्दोगानले आफ्नो कार्यकालमा देशको ८ करोड ५० लाख जनसंख्याबीच प्रजनन दरमा आएको गिरावटलाई प्रमुख समस्याको रूपमा देखेका छन् । तर, जन्मदर घट्नुको दोष उनले महिलाहरू र एलजीबीटीक्युं समुदायलाई दिएका छन् ।
यद्यपि, नारीवादी कार्यकर्ता बेरिन सोन्मेजले एर्दोगानको उक्त धारणा अस्वीकार गरेकी छन्। उनले भनिन्, “महिला र एलजीबीटीक्युं व्यक्तिहरूलाई घट्दो जनसंख्या वृद्धिको लागि दोषी ठहर गरिन्छ तर राजनीतिक निर्णयका गल्तीहरू स्वीकार गरिँदैनन्।”
उनका अनुसार, देशमा अराजकता, अनिश्चितता, र भविष्यप्रति भरोसा नहुनु मुख्य कारण हुन्, जसका कारण मानिसहरू सन्तान जन्माउने निर्णयमा हिच्किचाउँछन्। साथै, टर्कीमा बालबालिका सम्हाल्न सक्ने सहयोगी संरचना कमजोर रहेको र शिक्षा अत्यन्तै महँगो भएको कारण पनि समस्या थपिएको उनको भनाइ छ ।
अहिले टर्की उच्च मुद्रास्फीति र बेरोजगारीको चपेटामा छ। विगत चार वर्षदेखि टर्की मुद्रास्फीतिसँग संघर्ष गरिरहेको छ र आधिकारिक तथ्यांक अनुसार, शिक्षाको लागत मात्र गत वर्षको तुलनामा ७० प्रतिशतले बढेको छ। यस्तो आर्थिक अवस्था र सामाजिक अस्थिरताबीच टर्कीका जनताले परिवार विस्तारको सोच राख्नु कठिन बन्दै गएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस