Techie IT
२०८२ जेष्ठ २८, बुधबार

इरानका २० सहरमा सार्वजनिक स्थानमा कुकुर लिएर हिँड्न प्रतिबन्ध


इरान सरकारले देशका प्रमुख २० सहरमा नागरिकहरूलाई कुकुर लिएर पार्क वा सडकमा हिँड्न प्रतिबन्ध लगाएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यो निर्णय जुन ६ (इरानी क्यालेन्डरअनुसार खोरदाद १७) देखि लागू गरिएको हो ।

अधिकारीहरूले जनस्वास्थ्य, सामाजिक शान्ति र सुरक्षालाई प्राथमिकता दिँदै यस्तो प्रतिबन्ध लागू गरिएको बताएका छन् । नियम उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ ।

यसअघि सन् २०१९ मा राजधानी तेहरानमा यसप्रकारको प्रतिबन्ध लगाइएको थियो । तर अहिले उक्त प्रतिबन्ध इस्फाहान, केरमानलगायतका ठूला सहरहरूमा पनि विस्तार गरिएको हो ।

धर्म, संस्कृति र कुकुरपालन
इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिपछि कुकुर पाल्ने विषय निकै विवादित रहँदै आएको छ । केही अधिकारी तथा धार्मिक नेताहरू कुकुर पाल्ने परम्परा पश्चिमी संस्कृति प्रवाहको प्रतीक भएको र त्यसले इरानी सांस्कृतिक मूल्यलाई असर गर्ने दाबी गर्छन् ।

धार्मिक दृष्टिकोणबाट समेत कुकुरहरूलाई अशुद्ध मान्ने चलन रहेको छ । इरानका सर्वोच्च धार्मिक नेता अयातोल्लाह अली खामेनीले सन् २०१७ मा कुकुरहरूलाई गोठालो, सुरक्षा वा शिकारी प्रयोजनका लागि मात्र पाल्नु उचित हुने बताए पनि अन्य प्रयोजनलाई अस्वीकार्य मानेका थिए ।

कानुनी अस्पष्टता 
हालसम्म इरानमा कुकुर पाल्न पूर्ण रूपमा रोक लगाउने कुनै कडा राष्ट्रिय कानुन छैन । तर विभिन्न समय र ठाउँमा स्थानीय प्रशासनले सार्वजनिक स्थलमा कुकुर लिएर हिँड्न, पार्कमा लैजान वा गाडीमा राखेर लैजानसमेत प्रतिबन्ध लगाउने निर्णय गर्दै आएका छन् ।

यी प्रतिबन्धहरू सबै ठाउँमा समान रूपमा लागू हुने भने छैनन् । कतिपय क्षेत्रमा यस्ता नियमहरूको कडाइका साथ पालना गरिन्छ भने कतै शिथिल रूपमा मात्र लागू हुन्छ ।

यस निर्णयसँगै  विशेष गरी आफ्नो घरपालुवा जनावरलाई दैनिक घुमाउने वा पार्कमा लग्ने चाहना राख्नेहरूका लागि थप कठिनाइ हुने देखिन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट