इरान-इजरायल युद्धबीच चीन र रुसको चासो, इरानमा पुगे रहस्यमय चिनियाँ विमानहरू

इरान र इजरायलबीच जारी युद्धले नयाँ अन्तर्राष्ट्रिय समीकरण जन्माउँदै गएको छ। पछिल्ला घटनाक्रमले रूस र चीन इरानको पक्षमा उभिन सक्ने संकेत देखिँदैछ, विशेषगरी चीनबाट लगातार इरानतर्फ उडेका रहस्यमय विमानहरूले विश्वभरका रक्षा विश्लेषक र कूटनीतिक वृत्तमा हलचल ल्याइदिएको छ ।
पछिल्लो एक सातादेखि विभिन्न अन्तर्राष्ट्रिय रडार प्रणालीमा चीनको उत्तरी क्षेत्रबाट उडेका बोइङ ७४७ विमानहरू इरानको दिशामा उडेर केही समयपछि रडारबाट हराउने गरेका छन् । यी विमानहरू कजाकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानको वायुमार्ग हुँदै इरानी सीमासम्म पुगेपछि अचानक हराइरहेका छन्, जसले उडानहरूको उद्देश्य र गन्तव्यबारे गम्भीर प्रश्न उठाएको छ ।
‘फाइटर राडार २४’ का अनुसार, जुन १४ यता चीनबाट कम्तीमा पाँच बोइङ ७४७ विमान इरानतर्फ उडेका छन्। ती विमानहरूको अन्तिम गन्तव्य लक्जमबर्ग देखिए पनि कुनै विमान युरोपेली वायुसीमामा प्रवेश नगरेको देखिन्छ । यसले यी उडानहरू गम्भीर सैन्य वा रणनीतिक उद्देश्यका लागि प्रयोग भएको आशंका बलियो बनाएको छ ।
इरानमा आक्रमण, चीन र रुसको चासो
इरान यसबेला इजरायली हमलाबाट आफ्ना आणविक साइटहरू जोगाउने प्रयासमा जुटेको छ । यस्तो संवेदनशील समयमा चीनले सशक्त रुपमा उपस्थिति देखाउन थालेको छ । सन् २०२१ मा चीन र इरानबीच हस्ताक्षर भएको २५ वर्षे रणनीतिक साझेदारी सम्झौताको सन्दर्भमा यी गतिविधिहरूलाई जोडेर हेरिँदैछ ।
हेरिटेज फाउन्डेशनको सेन्टर फर नेशनल डिफेन्सका निर्देशक रोबर्ट ग्रीनवेका अनुसार, “चीनले मध्यपूर्वबाट सस्तो तेल खरिद गर्दै आफ्नो रणनीतिक प्रभाव बढाउने नीति अपनाइरहेको छ। इरान यसमा चीनको महत्त्वपूर्ण साझेदार हो।”
युद्धबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र इरानबीच मध्यस्थता गर्न प्रस्ताव गरेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस प्रस्तावलाई अस्वीकार गर्दै अमेरिका आफ्नो हितविपरीत कुनै मध्यस्थता स्वीकार नगर्ने स्पष्ट पारेका छन्।
त्यसपछि पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आपसी संवाद भएको बताइएको छ । यस संवादपछि चीनले इरानसँगको सम्पर्क तीव्र बनाएको अनुमान गरिएको छ । तेहरान विश्वविद्यालयका प्रोफेसर मोहम्मद मरान्डीका अनुसार, चीन–इरान साझेदारीले अमेरिका र पश्चिमी राष्ट्रहरूलाई स्पष्ट सन्देश दिन खोजेको हो । “जति धेरै अमेरिका यी दुईलाई अलग पार्न खोज्छ, उति नै यी देशहरू नजिकिन्छन्,” उनले फक्स न्यूजलाई भनेका छन् ।
मध्यपूर्वमा भइरहेको यो शक्ति सन्तुलनको लडाइँ अब द्विपक्षीय नभई बहुपक्षीय बन्दै गएको छ । इरान–इजरायल युद्धको छायामा चीन र रुसको कूटनीतिक, आर्थिक र सम्भावित सैन्य हस्तक्षेपले क्षेत्रीय संकटलाई विश्वव्यापी संकटमा रूपान्तरण गर्ने खतरा बढाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस