टिकटक खाता बन्द गर्न अस्वीकार गरेपछि बुबाद्वारा छोरीको हत्या
पाकिस्तानी दूरसञ्चार अधिकारीहरूले पनि एलजिबिटिक्यु सामग्री र ‘अनैतिक व्यवहार’का नाममा टिकटकमाथि प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएका छन्।

लोकप्रिय भिडियो एप टिकटक नहटाउने निहुँमा पाकिस्तानमा एक युवती आफ्नै बुबाको गोलीको शिकार भएकी छिन्। प्रहरीले दिएको जानकारी अनुसार, १६ वर्षीया ती किशोरीले टिकटक खाता मेट्न अस्वीकार गरेपछि बुबाले ‘इज्जतको नाउँमा’ उनलाई गोली हानेर हत्या गरेका हुन्।
घटना पाकिस्तानको रावलपिन्डी सहरमा मङ्गलबार भएको हो। प्रारम्भमा मृतकको परिवारले यो घटनालाई आत्महत्याका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको थियो, तर अनुसन्धानपछि वास्तविकता खुलेको प्रहरी प्रवक्ताले एएफपीलाई जानकारी दिए।
यो घटना पाकिस्तानमा महिलाहरूमाथि सामाजिक र पारिवारिक नियन्त्रण तथा हिंसाको गम्भीर सन्दर्भ बनेको छ। मुस्लिम बहुल यो देशमा महिलामाथि सार्वजनिक व्यवहारदेखि डिजिटल गतिविधिसम्म ‘इज्जत’को नाममा नियन्त्रण गरिँदै आएको छ।
यो घटना केवल एक्लो होइन। गत महिना पनि १७ वर्षीया टिकटक इन्फ्लुएन्सर सना युसुफ आफ्नै घरमा हत्या भएकी थिइन् । लाखौँ फलोअर्स बनाएकी सनाले सामाजिक सञ्जालमा आफ्नो जीवनशैली, सौन्दर्य सामग्री र परम्परागत पोशाकबारे भिडियोहरू शेयर गर्दै आएकी थिइन् । एक व्यक्तिको प्रस्ताव अस्वीकार गरेपछि उनलाई हत्या गरिएको थियो ।
टिकटक विशेषगरी युवामाझ पाकिस्तानमा निकै लोकप्रिय एप हो । तर देशमा सामाजिक परम्परा र डिजिटल स्वतन्त्रता बीचको द्वन्द्व बढ्दो छ । महिलाले टिकटकजस्ता प्लेटफर्ममार्फत कमाउने अवसर पाइरहे पनि स्मार्टफोन पहुँचमा ठूलो लैङ्गिक अन्तर छ—जहाँ पुरुषको पहुँच ५८ प्रतिशत भए पनि महिलामा यो ३० प्रतिशत मात्र रहेको २०२५ को मोबाइल जेन्डर ग्याप रिपोर्टमा उल्लेख छ।
पाकिस्तानी दूरसञ्चार अधिकारीहरूले पनि एलजिबिटिक्यु सामग्री र ‘अनैतिक व्यवहार’का नाममा टिकटकमाथि प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएका छन्।
यसैबीच, बलुचिस्तान प्रान्तमा यसै वर्ष एक बुबाले १४ वर्षीया छोरीको टिकटोक भिडियोहरू ‘इज्जतमाथि धब्बा’ भएको भन्दै हत्या गर्ने योजना बनाएको स्विकारेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस