Techie IT
२०८३ असोज २८, बुधबार

च्याम्पियन लिगमा आर्सनलको अपराजित यात्रा, घरेलु मैदानमा लिल ३–० ले ध्वस्त


UEFA च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिने क्रममा आर्सनलले फ्रान्सको लिललाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ।

मङ्गलबार राति घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलले दोस्रो हाफको रोमाञ्चक सात मिनेटभित्र तीन गोल गर्दै शानदार जित दर्ता गर्‍यो।

पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि खेल गोलरहित बराबरीमा रोकिएको थियो। तर दोस्रो हाफमा प्रशिक्षक मिकेल आर्टेटाको टोलीले रणनीतिक परिवर्तन गर्दै घरेलु मैदानमा आक्रामक खेल पस्कियो। खेलको ६४औँ मिनेटमा जुरियन टिम्बरले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए।

त्यसलगत्तै बुकायो साकाको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एबेरेची एजेले टोलीको अग्रता दोब्बर बनाए। त्यसको केही मिनेटमै काई हाभर्ट्जको पासमा बुकायो साका आफैँले तेस्रो गोल थप्दै आर्सनलको शानदार जित पक्का गरे।

यसअघि लिड्स युनाइटेडलाई २–१ ले हराएको टोलीमा प्रशिक्षक आर्टेटाले पाँच खेलाडी परिवर्तन गर्दै रणनीति तयार पारेका थिए। यस जितसँगै आर्सनल च्याम्पियन्स लिगको अङ्कतालिकामा बार्सिलोना र स्पोर्टिङ लिस्बनसँगै शीर्ष स्थानको होडमा मजबुत बनेको छ।

खेलको अन्तिम समयमा लिलका तर्फबाट पूर्व आर्सनल स्ट्राइकर ओलिभियर जिरुड मैदान प्रवेश गर्दा घरेलु समर्थकहरूले उनलाई भव्य स्वागत गरेका थिए। जिरुडले आर्सनलमा ६ वर्ष बिताउँदा १०५ गोल गरेका थिए। पहिलो खेलमा रियल बेटिससँग पराजित लिलले आर्सनलसँगको हारपछि पनि च्याम्पियन्स लिगमा अङ्कको खाता खोल्न सकेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट