दुबई विमानस्थलमा अब्दु रोजिक पक्राउ

‘बिग बोस’ फेम ताजिकिस्तानी गायक तथा सोशल मिडिया स्टार अब्दु रोजिकलाई शनिबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ ।
खलीज टाइम्सका अनुसार मोन्टेनेग्रोबाट दुबई आइपुग्ने क्रममा उनलाई विमानस्थलमै नियन्त्रणमा लिइएको हो । तर, दुबईका अधिकारीहरूले अहिलेसम्म उनको पक्राउको कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् ।
यद्यपि, अब्दु रोजिकको व्यवस्थापन कम्पनीले उनलाई चोरीको आरोपमा पक्राउ गरिएको पुष्टि गरेको छ । कम्पनीले घटनासम्बन्धी थप विवरण दिन अस्वीकार गरेको छ ।
अब्दु रोजिक सामाजिक सञ्जालमा चर्चित ताजिकिस्तानी गायक हुन् । भाइरल भिडियो, गीत र रियालिटी शोमार्फत चर्चा कमाएका उनले भारतको रियालिटी शो ‘बिग बोस १६’ मा भाग लिएपछि झनै लोकप्रियता हासिल गरेका थिए ।
यसअघि सन् २०२४ मा भारतमा आर्थिक अपराध अनुसन्धान विभाग (ईडी) ले अब्दुलाई मनी लान्ड्रिङसम्बन्धी एक आतिथ्य कम्पनीको विषयमा सोधपुछ गरेको थियो । तर, उक्त मामिलामा उनलाई अभियुक्त बनाइएको थिएन ।
दुबईमा गरिएको पछिल्लो पक्राउबारे थप जानकारी सार्वजनिक भइसकेको छैन । दुबई प्रशासनको आधिकारिक धारणा आउन अझै बाँकी छ ।
तपाईको प्रतिक्रिया दिनुहोस