Techie IT
२०८२ असार ३०, सोमबार

इमरान खानको रिहाइको मागमा पीटीआईको राष्ट्रव्यापी आन्दोलन सुरु, प्रहरी दमन बढ्दो


पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले आफ्ना संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै राष्ट्रव्यापी आन्दोलन सुरु गरेको छ।

शनिबारदेखि औपचारिक रूपमा सुरु भएको आन्दोलनका लागि पीटीआईका शीर्ष नेता लाहोरमा भेला भएका छन्। खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गण्डापुरले आन्दोलनलाई अगस्ट ५ सम्म चरम अवस्थामा पुर्‍याउने घोषणा गरेका छन्।

लाहोर पुगेका नेतामा पीटीआई कार्यवाहक अध्यक्ष ब्यारिस्टर गोहर अली खान, मुख्यमन्त्री गण्डापुर, र पञ्जाब विधानसभाका विपक्षी नेता मलिक अहमद खान भाचर पनि छन्।

यसअघि इस्लामाबादमा पार्टी नेताहरूको बैठक बसेको थियो, जसमा पञ्जाब विधानसभाबाट निलम्बित २६ जना सांसदहरूको स्थिति र आन्दोलनको रणनीतिबारे छलफल गरिएको थियो।

मुख्यमन्त्री गण्डापुरले देशमा अनौपचारिक सैनिक शासन चलिरहेको आरोप लगाउँदै भने, "इमरान खानलाई कुनै वैध कारण बिना जेलमा राखिएको छ।" उनले सबै प्रदेशमा स्थानीय मुद्दालाई जोडेर प्रदर्शनलाई सशक्त बनाउन अपील गरेका छन्।

गण्डापुरका अनुसार, "हरेक सफल आन्दोलन लाहोरबाट सुरु हुन्छ र राष्ट्रव्यापी सफलता हासिल गर्छ।" तर आन्दोलन सुरु हुनुअघि नै पञ्जाब प्रहरीले लाहोरको शाहदरा मोड र आसपासका क्षेत्रमा छापा मारेर पीटीआईका ५ जना कार्यकर्तालाई पक्राउ गरिसकेको छ।

पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई जनवरी १६, २०२४ मा भ्रष्टाचार मुद्दामा सजाय सुनाइएको थियो। अदालतले इमरानलाई १४ वर्ष, बुशरालाई ७ वर्ष जेल सजाय सुनाएको हो। उनीहरूलाई राष्ट्रिय कोषलाई ५० अर्ब पाकिस्तानी रुपैयाँ नोक्सान पुर्‍याएको आरोप लागेको छ।

उनीहरूले पाकिस्तान सरकारको अर्बौं मूल्यको सरकारी जग्गा बुशरा बीबीको अल कादिर ट्रस्टलाई अत्यन्त सस्तोमा बेचेको अभियोग लागेको छ। इमरानलाई यसै मुद्दामा ९ मे २०२३ मा पक्राउ गरिएको थियो र त्यसयता उनी बिभिन्न मुद्दामा जेलमै छन्।

पीटीआईले आन्दोलनलाई देशभर फैलाउने रणनीति बनाइरहेका बेला प्रहरी कारबाही पनि तीव्र बन्दै गएको छ। स्थिति थप जटिल बन्ने संकेत देखिन थालेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट