सडक दुर्घटनाबाट बढ्दो मृत्युदर, हप्तामा ५१ जनाको मृत्यु
नेपालमा वर्षेनी विभिन्न विपदका कारण हजारौं मानिसको मृत्यु हुने गरेको छ। यसै क्रममा, रैवारप्रेसले एक हप्ताको सडक दुर्घटनाको विश्लेषण गरेको छ।
कार्तिक १८ देखि २५ गतेसम्मको एक हप्तामा नेपालभरि सडक दुर्घटनाबाट ५१ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। सरकारले पटक–पटक सडक सुरक्षामा नियम र अनुगमन कडाइका साथ लागू गर्दै आएको भए पनि सडक दुर्घटनाका घटना बढ्दै गएको देखिन्छ। देशभरका अधिकांश जिल्लाहरू सडक सञ्जालले जोडिएसँगै सडक दुर्घटनाको संख्या बढ्नुमा मानवीय लापरवाही पनि प्रमुख कारण बन्ने गरेको छ।
कार्तिक १८ देखि २५ गतेसम्मको दुर्घटनाको डाटा हेर्दा, २२ गते सबैभन्दा बढी १० जनाको मृत्यु भएको देखिन्छ भने अन्य दिनहरूमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
यस अवधिमा सबैभन्दा धेरै सडक दुर्घटना काठमाडौँमा भएको छ भने मुगुमा जम्मा एक मात्र दुर्घटना भएको छ। दुर्घटना हुने सवारी साधन सबैभन्दा धेरै मोटरसाइकल रहेको देखिन्छ। मृत्यु हुनेमा १३ जना महिला र ३८ जना पुरुष छन्। उमेर समूहअनुसार, सबैभन्दा बढी १८–३५ वर्षका व्यक्तिहरूको मृत्यु भएको छ । १७ वर्ष मुनिका उमेर समूहमा ३ जना, १८–३५ वर्ष समूहमा १७ जना, ३६–५९ वर्ष समूहमा १० जना, र ६० वर्ष भन्दा माथिका ९ जनाले यस अवधिमा ज्यान गुमाएका छन्।
सडक सुरक्षामा सबै सवारी चालकहरूले ट्राफिक नियम पालना गरे मात्र दुर्घटना रोकिने मात्र हैन अकालमा ज्यान गुमाउनेको संख्या पनि घटाउन सकिन्छ भन्ने स्पष्ट देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस