Techie IT
२०८३ असोज ६, मंगलबार

सरकारले यस वर्षको दसैँमा सहुलियत दरमा खसी-च्याङ्ग्रा नबेच्ने


चाडपर्वको समयमा बजार मूल्य नियन्त्रण गर्न विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने नबेच्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावको कारण देखाउँदै यस वर्षको दसैँमा खसी-च्याङ्ग्रा बिक्री नगर्ने निर्णय गरेको हो।

बजारको बढ्दो महँगीलाई सन्तुलनमा राख्न कम्पनीले हरेक वर्ष दसैँका बेला उपत्यकामा सहुलियत दरमा चौपाया ल्याउने गर्थ्यो। तर, कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यस वर्ष खसीबोका खरिदका लागि बजेट नै विनियोजन गरिएको छैन। सोही कारण कम्पनीले यसपटक उपत्यकामा सहुलियतका चौपाया नल्याउने भएको हो।

कम्पनीले २०८१ सालको दसैँमा १ हजार ५ सय खसी-बोका र ३ सय च्याङ्ग्रा ल्याएर सहुलियत मूल्यमा बिक्री गरेको थियो। त्यसबेला जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र च्याङ्ग्राको मूल्य १ हजार २३० रुपैयाँ निर्धारण गरी उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँ छुट दिइएको थियो। गत वर्ष कम्पनीले च्याङ्ग्रा बिक्रीका लागि अनलाइन बुकिङसमेत खुलाएको थियो, तर पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा खसी-च्याङ्ग्रा ल्याउन नसकिँदा बुकिङ नै रद्द गर्नुपरेको थियो।

चौपाया खरिद–बिक्री केन्द्रका अनुसार यस वर्षको दसैँमा मात्र काठमाडौँ उपत्यकामा ३५ देखि ४० हजार खसी, बोका तथा च्याङ्ग्राको माग हुने अनुमान गरिएको छ। सरकारले सहुलियतका चौपाया नल्याउने भएपछि बजारमा उपभोक्ताहरू थप महँगीको मारमा पर्ने चिन्ता बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट