सिद्धबाबा सुरुङमार्गमा कहिले गुड्छ गाडी ?
निर्माणधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मङ्सिर महिनादेखि नै सवारीसाधन सञ्चालन गर्ने गरी आवश्यक तयारी तीव्र पारिएको छ। सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय, बुटवलले सुरुङको मुख्य संरचनासहित अन्य अत्यावश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी काम अगाडि बढाइएको जनाएको छ।
सुरुङभित्रको सडक निर्माण तथा अन्य सिभिल संरचनाहरूको काम सम्पन्न भइसकेकाले आगामी मङ्सिरभित्रै यातायात सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख नवराज बास्तोलाले बताए। उनका अनुसार यसअघि असोज वा कात्तिकमै सञ्चालन गर्ने योजना रहे पनि बर्खायाम र भोटेकोशीमा आएको बाढीका कारण निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा काम एक महिना धकेलिएको हो।
भोटेकोशीको बाढीले सुरुङमार्गका लागि ल्याइएका कतिपय विद्युतीय सामग्री बगाएपछि पूर्वनिर्धारित कार्यतालिका केही प्रभावित हुन पुगेको थियो। हाल सुरुङभित्र सडक कालोपत्रे (पिच) सकिएर रङरोगनको काम भइरहेको छ भने प्राविधिक (टेक्निकल) भवनको फिनिसिङको काम पनि अन्तिम चरणमा पुगेको छ। यसअघि नै सुरुङको लाइनिङ (भुइँ तथा भित्ता ढलान) लगायतका सिभिल संरचनाको काम भने पूरा भइसकेको छ। अब मुख्य रूपमा इलेक्ट्रोमेकानिकलसम्बन्धी केही कामहरू बाँकी छन्।
योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दका अनुसार हालसम्म यस आयोजनाको भौतिक प्रगति: ६९.७० प्रतिशत भएको छ भने वित्तीय प्रगति: ६३.५५ प्रतिशत पुगेको छ।
हालसम्म मुख्य सुरुङसहित बाइपास सुरुङ खन्ने काम, लाइनिङ, १४ वटा कल्भट निर्माण तथा टनेल भित्रको पेभमेन्टको काम सम्पन्न भइसकेको छ। सुरुङमा कुल तीनवटा बाइपास निर्माण गरिएका छन्। सुरुङको भित्री काम सकिएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम थालिने इन्जिनियर आनन्दले जानकारी दिए।
सुरुङको बाहिरी भागलाई पहिरोको जोखिमबाट जोगाउन रकसेड (Rock Shed), रकफल ब्यारियर (Rockfall Barrier) र स्लोप प्रोटेक्सन (Slope Protection) का कामहरू अघि बढाइनेछ।
१ हजार १२६ मिटर लामो यस सुरुङमार्ग निर्माणका लागि २०७८ फागुनमा ठेक्का सम्झौता भई २०७९ सालदेखि औपचारिक रूपमा काम थालिएको हो। चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले जिम्मा लिएको यस आयोजनाको कुल लागत ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँ रहेको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्मको क्षेत्र अत्यधिक पहिरो जाने जोखिमयुक्त क्षेत्रमा पर्छ। विशेष गरी वर्षायाममा लेदोसहितको पहिरो र सुक्खायाममा माथिबाट ढुङ्गा खस्ने समस्याका कारण यस खण्डमा यात्रा गर्ने यात्रुले बर्सेनि सास्ती र ज्यानै जोखिममा पार्नुपर्ने बाध्यता छ।
सरकारको आफ्नै लगानी (स्रोत) मा निर्माण भइरहेको यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा पहिरोको जोखिम सदाका लागि अन्त्य हुनेछ। यसबाट लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान तथा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीलगायतका जिल्लाका लाखौँ नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस