Techie IT
२०८३ असार ३१, बुधबार

आज देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी कति जनाको मृत्यु भयो?


देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। सुनसरी, कास्की, ललितपुर, सिराहा, महोत्तरी, काठमाडौँ र झापामा भएका दुर्घटनामा उनीहरूले ज्यान गुमाएका हुन्।

१. सुनसरीमा मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
सुनसरीको गढी गाउँपालिका-३ चालिस हट्टीस्थित सडकमा प्र.१-०२-०५२ प ४५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको तिरहुत गाउँपालिका-३ बस्ने २५ वर्षीय शिवम यादव रहेका छन्। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको पार्वती देवी मेमोरियल अस्पताल छिटाहामा उपचार भइरहेको छ।

२. पोखरामा मोटरसाइकल दुर्घटना
कास्कीको पोखरा महानगरपालिका-४ पालिखे चोकमा गएराति ग.१६ प २४१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्वतको फलेवास नगरपालिका-५ खानिगाउँका २४ वर्षीय सुमन सुनार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका सुनारको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। 

३. रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा
ललितपुर महानगरपालिका-३ धोबिघाटमा सडकमा बिग्रिएर रोकी राखेको बागमती प्रदेश ०३-००१ ख २०१५ नम्बरको ट्रकमा बा.७५ प ८७० नम्बरको मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ कलंकी बस्ने धादिङका २० वर्षीय रितेश श्रेष्ठ रहेका छन्। मंगलबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको नेपाल मेडिसिटी अस्पताल नख्खुमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

४. मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
सिराहा नगरपालिका-९ गुलरिया चोकमा मधेश प्रदेश ०१-००६ प २०२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-४ बस्ने ५० वर्षीय राज कुमार महतो रहेका छन्। मंगलबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा र मोटरसाइकल चालकको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

५. महोत्तरीमा ७० वर्षीय वृद्धको दुर्घटनामा मृत्यु
महोत्तरीको जलेश्वर नगरपालिका-६ सानो धबैलीमा प्रदेश २-०२-००२ प ६२४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका-६ साहुजिपट्टी बस्ने ७० वर्षीय रामचन्द्र नायक रहेका छन्। मंगलबार साँझ गम्भीर घाइते भएका नायकको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो।

६. काठमाडौँमा माइक्रो बसको ठक्करबाट वृद्धको मृत्यु
काठमाडौँ महानगरपालिका-२२ स्थित विद्युत् प्राधिकरण कार्यालय अगाडि आकाशे पुलमुनि बा.प्र.०१-००२ ज ७०१२ नम्बरको माइक्रो बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढानीलकण्ठ नगरपालिका-७ बस्ने काभ्रे नमोबुद्ध-७ घर भएका ७३ वर्षीय माधव प्रसाद खनाल रहेका छन्। बुधबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिएर फरार भएका माइक्रो बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

७. झापामा टिपरको ठक्कर
झापाको बिर्तामोड नगरपालिका-३ दृष्टि आँखा अस्पताल अगाडि प्र१-०१-००१ क १०१३ नम्बरको टिपरको ठक्करबाट ७० वर्षीया लिलामाया बुढाथोकीको मृत्यु भएको छ। बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको टिपरले मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी पैदलयात्री बुढाथोकीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको हो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट