फल्दै छ २० लाखको अकबरे खुर्सानी, किसानलाई बिकाउनै मुस्किल
बेनी: म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानहरूले व्यावसायिक रूपमा लगाएको अकबरे खुर्सानी लटरम्म फलेर पाक्न थालेपछि खुसी हुनुको साटो बजार र उचित मूल्य नपाएर चिन्तित बनेका छन्। परम्परागत कोदो र मकैखेतीको विकल्पमा पहिलो पटक अकबरे खेती गरेका यहाँका कृषकहरू अहिले उत्पादन बिक्री गर्ने चिन्ताले पिरोलिएका छन्।
गाउँका अन्य किसानको सफलताबाट प्रभावित भएर दुई रोपनी जग्गामा अकबरे खेती गर्नुभएका स्थानीय गोविन्द किसान आफ्नो बारीको राताम्मे खुर्सानी देखेर हर्षित भए पनि यसलाई कहाँ लगेर बेच्ने भन्ने पीरले सताएको गुनासो गर्नुहुन्छ। गत वर्ष प्रतिकिलो रु २०० मा बिक्री भएको खुर्सानी यसपालि रु १७० पाउन पनि मुस्किल भएको उहाँको भनाइ छ।
उत्पादन बढ्यो, मूल्य घट्यो
सोचिन्द्रा कृषि तथा पशुपक्षी फार्मका सञ्चालक लालबहादुर पुनले पुर्ख्यौली जग्गाको नौ रोपनीमा यसपालि अकबरे खेती विस्तार गर्नुभएको छ। गत वर्ष खुर्सानीबाट रु चार लाख आम्दानी गर्नुभएका पुन भकिम्लीबाट मात्रै यसपालि रु २० लाखभन्दा बढीको खुर्सानी बिक्री हुने अनुमान गर्नुहुन्छ। तर, बजारमा मूल्य भने ह्वात्तै घटेको छ।
“दुई वर्षअघि प्रतिकिलो रु ३५० सम्म बिक्री भएको खुर्सानी गत वर्ष रु १९० मा झर्यो, यसपालि त १३० रुपैयाँ पाउन पनि मुस्किल छ,” कृषक पुनले दुखेसो पोख्नुभयो। उहाँका अनुसार सस्तो मूल्यमा खुर्सानी खरिद गर्ने केही व्यापारीले समेत समयमा भुक्तानी नदिई दुःख दिने गरेका छन्।
भकिम्लीमा गोविन्द किसान, लालबहादुर पुन, राम रुचाल, खिम आले, कुल पुन, जगदेवी घर्ती, मनी रोकालगायत १० जना भन्दा बढी किसानले व्यावसायिक अकबरे खेती गर्दै आएका छन्। यस क्षेत्रमा तीन वर्षयता बेलढुङ्गा कृषक समूहका सचिव भीमबहादुर रोकाले ताप्लेजुङबाट बीउ ल्याएर परीक्षणका रूपमा खेती थालेपछि व्यावसायिक अकबरे खेती सुरु भएको हो।
कृषि विकास कार्यालयका प्रमुख सञ्जीव बाँस्तोलाका अनुसार उच्च पहाडी भूगोल र हावापानी अनुकूल भएकाले भकिम्ली अकबरे खेतीका लागि निकै उपयुक्त मानिन्छ। बेनी, दरवाङ, तातोपानी, गलेश्वर, मुस्ताङ, बाबियाचौर, कुश्मा र बागलुङ यसका स्थानीय बजार हुन्।
बजारसम्म ताजा खुर्सानी पुर्याउन केही किसान सफल भए पनि कतिपयका बोटमा फूल खेल्न थालेपछि बोट सुक्ने समस्या देखिएको छ। यसले गर्दा सोचेजस्तो आम्दानी लिन नपाएको कृषक कुलबहादुर पुनले गुनासो गर्नुभयो।
वडाअध्यक्ष पदम पुनले खुर्सानीको बजारीकरणका लागि व्यापारी र किसानबीच समन्वय गर्ने काम भइरहेको बताउनुभएको छ। साथै, रोगकिराको समस्या देखिएका स्थानमा कृषि प्राविधिकहरूलाई खटाइएको उहाँको भनाइ छ।
तथापि, ताजा अवस्थामा खपत हुन नसकेको खुर्सानीलाई सुकाएर प्रशोधन गर्ने, सुरक्षित रूपमा प्याकिङ गर्ने र मूल्य स्थिरीकरणका लागि किसानहरूलाई सीपमूलक तालिमको टड्कारो आवश्यकता देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस