वन कार्यालयको गाडीको ठक्करबाट सिटी सफारीमा सवार महिलाको मृत्यु
झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको गाडी (स्कोरपियो) र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।
सोमबार बिहान मेचीनगर-१५ कालिकास्थित भित्री सडकखण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १-०१-००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेश ०१-००२ झ ७३६० नम्बरको स्कोरपियो एकापसमा जुधेका थिए।
दुर्घटनामा परी सिटी सफारीमा सवार मेचीनगर-१५ निवासी ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जन अवाले जानकारी दिए।
दुर्घटनापछि प्रहरीले स्कोरपियो चालक भद्रपुर नगरपालिका-१० निवासी ५४ वर्षीय लीला श्रेष्ठ र सिटी सफारी चालक मेचीनगर-६ निवासी ४५ वर्षीय गम्भीरप्रसाद बातरलाई नियन्त्रणमा लिएको छ। घटनाको थप कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस