पहिरोले सुर्खेत-जुम्ला यातायात सेवा ठप्प
अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा पहिरो खस्दा सुर्खेत-जुम्ला सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आज साँझ साढे ६ बजेको समयमा लेदोसहितको पहिरो खस्दा राजमार्ग बन्द भएको हो। प्रतिकूल मौसम र रातिको समय भएकाले पहिरो पन्छाउन तत्काल कठिनाई उत्पन्न भएको प्रहरीले जनाएको छ। भोलि बिहानैदेखि डोजर लगाएर पहिरो हटाउने काम सुरु गरिने प्रहरीको भनाइ छ।
सडक अवरुद्ध भएपछि यस खण्डका यात्रुहरू बीचमै अलपत्र परेका छन्। तसर्थ, सडकको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय कालिकोटले यात्रु तथा सर्वसाधारणमा अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस