Techie IT
२०८२ भाद्र ९, सोमबार

नेपालमा छिट्टै मनसुन भित्रिने संकेत, हिमाली क्षेत्र बढी जोखिममा


भारतमा सामान्य मिति भन्दा एक हप्ता अघिदेखि मनसुन सुरु भएपछि नेपालमा पनि छिट्टै मनसुन प्रवेश गर्ने संकेत देखिएको छ । भारतको केरलामा जेठ १० गते (२४ मे) नै मनसुन भित्रिएको पुष्टि भएपछि नेपालमा समेत आगामी केही दिनमै मनसुन सुरु हुने अनुमान मौसमविदहरूले गरेका छन् ।

नेपालमा सामान्यतया १३ जुनमा (जेठ अन्तिम साता) मनसुन प्रवेश गर्छ । तर, यसपालि भारतमा १६ वर्षयताकै छिटो मनसुन सुरु भएकाले नेपालमा पनि ढिलो नहुने वरिष्ठ मौसमविद मीनकुमार अर्याल बताउँछन् । ‘अहिले जलवाष्पयुक्त हावाको गतिशीलता हेर्दा नेपालमा मनसुन छिट्टै भित्रिन सक्छ,’ उनले भने।

भारतमा मनसुन प्रवेश गरे पनि नेपालमा अझै पश्चिमी वायु र स्थानीय प्रणालीको प्रभाव कायमै रहेको मौसम विभागले जनाएको छ । बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालमा प्रवेश गरिरहेकाले दिनहुँजसो केही जिल्लामा वर्षा भइरहेको छ । आज पनि काठमाडौं उपत्यकासहित केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताइएको छ ।

नेपालमा मनसुन १३ जुनदेखि सुरु भई २ अक्टोबरसम्म रहन सक्छ। सामान्य अवस्थामा यो अवधि ११२ दिनको हुन्छ । तर, जलवायु परिवर्तनको असरका कारण यो अवधिमा असामान्य तापक्रम र वर्षा हुन सक्ने देखिएको छ ।

मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरेको २०८२ सालको मनसुन प्रक्षेपण अनुसार, हिमाली क्षेत्र—विशेषगरी मनाङ, मुस्ताङ, र अन्य पहाडी जिल्लामा सरदरभन्दा बढी वर्षा र उच्च तापक्रम हुने सम्भावना देखिएको छ । यसले हिउँ तिव्र पग्लने  र पहिरो तथा बाढीको जोखिम बढाउने विज्ञहरूको भनाइ छ ।

भूगर्भविद् डा. बसन्तराज अधिकारी भन्छन्, ‘हिमालपारिका जिल्लामा अधिक वर्षा र तापक्रम बढेमा त्यो खतराको संकेत हो । पानीले हिमाल खियाएर तल झर्ने भएकाले मधेशसम्म जोखिम फैलन सक्छ ।’

कुन ठाउँमा कति वर्षाको सम्भावना?
विभागका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा ५५–६५ प्रतिशत बढी वर्षा हुने सम्भावना छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी, लुम्बिनीको पश्चिमी र बागमती तथा कोशी प्रदेशका उत्तरी भूभागमा ४५–५५ प्रतिशत बढी वर्षाको पूर्वानुमान गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट