भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, यस वर्ष भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ।
समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार कात्तिक ६ गते बिहीबारको मध्याह्नकालमा टीका लगाउन कुनै बाधा छैन। तर साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तमा टीका लगाउन उत्तम मानिएको छ।
‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, सर्वसाधारणका लागि मध्याह्नमा टीका लगाउन कुनै समस्या छैन,’ उनले स्पष्ट पारे।
समितिका अनुसार, यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुँदैछ। सोही दिनदेखि यमदीप दानसहित धनत्रयोदशी र धनतेरस पर्व पनि मनाइनेछ। कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती पर्छ।
कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइनेछ। सोही रात दीपमालिका गरिनेछ।
समितिका अनुसार, सोमबार दिउँसो २ बजेर ५२ मिनेटसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा औंशीकै दिन साँझ गर्नुपर्ने शास्त्रीय वचन छ। औंशी तिथिका स्नान–दान भने मंगलबार बिहान (कात्तिक ४ गते) गर्नुपर्नेछ।
कात्तिक ५ गते बुधबार गाई, गोरु र आत्म (म्ह) पूजा गर्ने शास्त्रीय मान्यता रहेको समितिले जनाएको छ। ‘कृत्यवाटिका’ ग्रन्थअनुसार आत्म पूजा कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा गर्नुपर्छ। यो पूजा विशेषगरी नेवार समुदायमा प्रचलित परम्परा हो।
सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीलगायत नेवार समुदायका पञ्चाङ्गकारहरूले प्रकाशित पात्रोहरूमा पनि यही मितिमा आत्म पूजा उल्लेख गरेका छन्।
त्यसै दिन नेपाल संवत् ११४६ नयाँ वर्ष पनि मनाइनेछ। ‘प्रतिपदाका दिन सूर्योदय हुने दिनै नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार निर्णय गरिएको हो,’ अध्यक्ष ढकालले बताए।
शास्त्रीय विधिअनुसार भाइपूजा (किजा पूजा) पनि यही कात्तिक ६ गते बिहीबार मनाइनेछ। मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म द्वितीया तिथि रहने भएकाले शास्त्रीय वचन अनुसार मध्याह्नकालमै भाइटीका लगाइने समितिले जनाएको छ।
समितिले स्पष्ट पारेको छ— “भ्रातृपूजा” भन्ने शब्दले दाजुभाइ दुवैलाई जनाउँछ। त्यसैले भाइटीका भनिए पनि ज्येष्ठताको क्रमानुसार दाजुभाइ दुवैलाई टीका–टाला लगाउनु शास्त्रसम्मत हुन्छ।
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक (तिहार) पर्वमा यमदीप दान, काग–कुकुर पूजा र भ्रातृपूजासहित परिवार, सम्बन्ध र प्रकाशको उत्सव मनाइन्छ।
वैदिक परम्पराअनुसार काग र कुकुरलाई यमदूतका रूपमा मीठा परिकार चढाइन्छ, जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस