Techie IT
२०८२ कार्तिक ८, शनिबार

मिथिलामा आजदेखि छठ पर्व औपचारिक रूपमा सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै


जनकपुरधाम — मिथिलाञ्चलको महान् पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। सूर्यदेवको आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइने यो पर्व पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइन्छ।

आज पहिलो दिन ‘नहाय–खाय’ मनाइँदैछ। यस दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी शुद्ध भई अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ। भोलि (आइतबार) दोस्रो दिन ‘खरना’मा ब्रतालुले दिनभरि उपवास बसी साँझमा दूध, चामल र सक्खरबाट खीर बनाई देउतालाई अर्पण गरी प्रसादस्वरूप ग्रहण गर्ने गर्छन्।

तेस्रो दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने अन्तिम दिन मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्वको समापन गरिनेछ। अन्तिम दिनलाई ‘पारन’ भनिन्छ।

छठमा बाँसको ढाकी, डगरी, टोकरी, माटोका घैँटा, हात्ती, कलश, कनसुपतीलगायत सामग्री अर्पण गरिन्छ। ठेकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अर्पण गर्ने चलन छ। अर्घ्य दिने ब्रतालुहरूले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा भएकाले छठलाई निष्ठा र कठोर साधनाको पर्वका रूपमा लिइन्छ।

जनकपुरधाममा छठका लागि गंगासागर, धनुषसागर, दशरथ ताल, अंगराजसर, अरगजासर र मटकोरवा पोखरीलगायतका घाटहरू आकर्षक रूपमा सजाइँदै छन्। गंगासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार यस वर्ष पनि विगतभन्दा बढी व्यवस्थापन र सरसफाइमा ध्यान दिइएको छ। उनले भने, “श्रद्धालुहरूका सुविधाका लागि पण्डाल, बत्ती र सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ।”

गंगासागरमा तीन वटा समितिहरूले मिलेर सजावटको काम गरिरहेका छन्। पण्डाललगाउने काम अन्तिम चरणमा पुगेको छ भने झिलिमिली बत्तीको तयारी भइरहेको छ। यस वर्ष प्रत्येक अर्घ्यका लागि ६ सय रुपैयाँ शुल्क तोकिएको भए पनि नदिने भक्तजनलाई पनि पूजा गर्न छुट दिइने अध्यक्ष गुप्ताले बताए।

अरगजासर छठ समितिका सचिव वीरेन्द्र कर्णका अनुसार दसैं सकिएलगत्तै तयारी सुरु गरिएको हो। उनले सफाइ र सजावटको काम अन्तिम चरणमा पुगेको बताए। यहाँ हिन्दूहरूसँगै मुस्लिम समुदायका मानिसले पनि श्रद्धापूर्वक छठ पूजामा सहभागी हुने परम्परा रहेको छ।

शान्ति–सुरक्षाका लागि स्थानीय प्रशासन र प्रहरीबीच समन्वय गरिएको छ। समितिका अनुसार अरगजासर पोखरीमा पाँच हजारभन्दा बढी अर्घ्य अर्पण हुने अनुमान छ।

मिथिलाञ्चलका बजारहरू अहिले छठ सामग्री किनमेलमा व्यस्त छन्। बाँस र माटोबाट बनेका टोकरी, घैँटो, कनसुपती, हात्ती, नाङ्लो लगायतका वस्तु किन्नेको भीड देखिएको छ। स्थानीय उत्पादनमा आधारित यस पर्वका सामग्री आफ्नै खेतबारीमा उत्पादन भएका गहुँ, चामल र पीठोबाट बनाइन्छ।

तराई–मधेशका सहर र गाउँहरू अहिले छठ गीतका मधुर स्वरले गुन्जायमान छन्। जनकपुरका ऐतिहासिक गंगासागर, धनुषसागर र दशरथ तालजस्ता पोखरीहरू नवदुलहीझैं सिँगारिँदै छन्। श्रद्धा, निष्ठा र सामाजिक एकताको प्रतीक यो पर्व मिथिलाञ्चलमा उल्लासपूर्वक सुरु भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट